पत्रकार रामचन्द्र बस्नेतमाथि गालीगलौज र ज्यान मार्ने धम्कीप्रति महासंघको कडा भर्त्सना

सार्थक ब्यूरो ।तामाकोसी सन्देश साप्ताहिकका प्रकाशक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्व कोषाध्यक्ष वरिष्ठ पत्रकार रामचन्द्र बस्नेतमाथि विन मिडिया प्रा।लिमा कार्यरत लिला थापाद्वारा गरिएको गालीगलौज, अभद्र व्यवहार र ज्यान मार्ने धम्कीप्रति नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
शाखाका सचिव रमेश कुमार बोहोराले एक विज्ञप्ति जारी गर्दै उक्त घटना केवल व्यक्तिगत रिसइवी वा असहिष्णुताको परिणाम नभई स्वतन्त्र पत्रकारितामाथिको प्रत्यक्ष हमला भएको ठहर गरेको छ । विज्ञप्तिमा भनिएको छ, “यस प्रकारको आपत्तिजनक व्यवहारले लोकतान्त्रिक मूल्य, प्रेस स्वतन्त्रता र अभिव्यक्तिको अधिकारमा गम्भीर आघात पुर्‍याएको छ, जुन कुनै हालतमा स्वीकार्य छैन ।”
शाखाका अनुसार पत्रकार बस्नेतले आफ्नो पेशागत जिम्मेवारी निर्वाह गरिरहेका बेला अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएका थिए । शाखाले यस्तो आक्रामक र अमर्यादित व्यवहार प्रेस आचारसंहिता, सामाजिक शिष्टाचार र प्रचलित कानुनको स्पष्ट उल्लंघन भएको बताएको छ ।
घटनाप्रति गम्भीर चिन्ता प्रकट गर्दै शाखाले दोषीलाई कानुनी दायरामा ल्याउन जोडदार माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्र प्रेस र निर्भीक पत्रकारिता लोकतान्त्रिक समाजका आधारस्तम्भ हुन् । यस्ता घटनाले पत्रकारहरूलाई त्रास, डर र असुरक्षाको वातावरणमा काम गर्न बाध्य पार्दछ, जुन हामीलाई कुनै हालतमा स्वीकार्य छैन ।”
महासंघ काठमाडौं शाखाले घटनाको निष्पक्ष र शीघ्र अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही सुनिश्चित गर्न सुरक्षा निकाय र प्रशासनसँग आग्रह गरेको छ । साथै, यस्ता घटनाप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न सरकार, सरोकारवाला निकाय र सम्पूर्ण नागरिक समाजसँग समेत अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित