“नहरमा पानी फाल्न बनाइएको पर्खाल। बर्खामा पानी फर्किएर बस्ती डुब्ने स्थानीयको चिन्ता।”
सार्थक ब्यूरो ।भीमदत्त नगरपालिका ६ सन्त निरंकारी मण्डस्थित आशपास क्षेत्रको पानी सिधैं महाकाली सिँचाई नहरमा पस्ने भएको छ ।भीमदत्त नगरपालिकाले मेयर अन द स्पट कार्यक्रम अन्र्तगत पानी निकासका लागि नहरमा बनाएको नाला अर्थात क्रस ड्रेनको मुखमा पर्खाल बनाएको हो । नाला भएर आउने पानी नहरमा फाल्न पर्खाल निर्माण गरिएको छ ।
भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष प्रकाश चन्दले नहरमा पानी फाल्न नगरपालिकाले पर्खाल निर्माण गरेको बताए ।‘नहरमा पानी फाल्न पर्खाल निर्माण गरिएको हो’ उनले भने,‘यो योजना नगरपालिकाको हो, यसमा वडा कार्यालयको कुनै हात छैन ।’नगरपालिका कार्यालयले वडासित छलफल नगरी पर्खाल निर्माण गरेको वडा अध्यक्ष चन्दले बताए । नगरपालिकाले पानीको निकास थुन्ने गरी पर्खाल बनाएपछि स्थानीय आक्रोशित हुन पुगेका छन् ।
स्थानीयले नहरमा पानी फाल्न नालाको मुखमै बनाएको पर्खालले ऐंठपुर क्षेत्र डुबानमा पर्ने बताए ।‘यो नहरको नाला भएर सन्त निरंकारी आशपास क्षेत्रको पानी निकास भएर जान्थ्यो, अब पानी नहरबाट फर्केर ऐंठपुर क्षेत्र नै डुबानमा पर्छ’ स्थानीय शमरजङ्ग बहादुर चन्दले भने ।चन्दले बर्खा याममा नहरको पानीले नालाको पानी थुनिएर डुबान पर्ने खतरा औंल्याए ।
‘अहिले समान्य अवस्थामा नाला थुनेर नहरमा पानी फाल्दा ठिक हुन्छ जस्तो देखिएको छ, तर बर्खा याममा अत्यधिक पानी पर्दा नहरको पानीले नालाबाट निकास हुँदै जाने पानी थुनिएर फर्किन्छ, त्यसपछि यो पानी बस्तीमै आएर बाढी र डुबान पर्छ’ चन्दले भने ।
नाला थुनेर पानी नहरमा फाल्न भन्दा नालाको निकास खाली गरिनु पर्ने चन्दले बताए ।
नाला भएर आउने पानी होटल गंगोत्री नजिक हुँदै वसपार्क हुँदै निकास हुने गर्छ । अहिले पानी निकास क्षेत्र अतिक्रमण गरिएकाले निकास बन्द हुन पुगेको छ । स्थानीय वसपार्कसम्मको निकास खाली गरी पानी निकास गरिनु पर्ने बताउँछन् ।
‘यो पर्खाल बनाउन भन्दा त्यस भन्दा तल कुन कुन ठाउँमा खोला अतिक्रमण गरी निकास रोकिएको छ, त्यसलाई खाली गरिनु पर्छ’ चन्दले भने ।नरहमा पानी फाल्न पर्खाल बनाएपछि स्थानीय महाकाली सिँचाई व्यवस्थापन कार्यालय पुगेका छन् । उनीहरुले कार्यालय प्रमुख प्रमोद तिम्सिनालाई तत्काल पर्खाल भत्काउन आग्रह गरेका छन् ।‘यसलाई भत्काउन हाकिमलाई सापलाई भनेका छौ, हाम्रो मागलाई वेवास्ता गरिए राम्रो हुने छैन भनेका छौ’ स्थानीय चन्दले भने ।नहर महाकाली सिँचाई व्यवस्थापन कार्यालय मातहत पर्छ । महाकाली सिँचाई आयोजनाको पहिलो चरण अन्र्तगत ४० को दशकमा नहर निर्माण गरिएको थियो ।नहर निर्माणसंगै नहर उत्तरी क्षेत्रको पानी निकासका लागि नहरमा निर्माण गरिएको क्रस ड्रेनको मुखमा पानी नहरमा फाल्न पर्खाल बनाइएको छ ।महाकाली सिँचाई व्यवस्थापन कार्यालयका प्रमुख तिम्सिनाले कार्यालयसित मर्मत गर्ने भन्दै अनौपचारिक रुपमा जानकारी दिएर पर्खाल निर्माण गरेको बताए ।‘त्यहाँ अलि भत्किएको थियो, नगरपालिकाले मर्मत गर्छु भन्यो, त्यसका लागि लिखित पत्र त थिएन’ उनले भने,‘मर्मत गरि दिन्छु भनेपछि कार्यालयले हुन्छ भन्यो, त्यस अनुसार नै बन्यो होला ।’
भीमदत्त नगरपालिकाका प्राविधिकले आफूसित मोबाइल फोनमा कुराकानीको भरमा पर्खाल निर्माण भएको उनले बताए ।नगरपालिकाबाट फोन गर्ने प्राविधिकको नाम भन्ने आफूलाई थाह नभएको तिम्सिनाले बताए । नालाको मुखमा पर्खाल बनेपछि निकास बन्द भएर पानी नहरमा जाने उनले बताए ।कार्यालयले असार ३ गते भीमदत्त नगरपालिकालाई पर्खाल भत्काउन पत्राचार गरेको कार्यालय प्रमुख तिम्सिनाले बताए ।‘पानी निकास बन्द हुने भएपछि कार्यालयले नगरपालिकालाई भत्काउन पत्राचार गरेका छौ, त्यसका कुनै जवाफ आएको छैन’ उनले भने ।भीमदत्तले पर्खाल भत्काउन आनाकानी गरे के गर्ने भन्ने प्रश्नमा कार्यालय प्रमुख तिम्सिनाले प्रशासन कार्यालय गुहार्ने बताए ।‘भत्काउन भनेका छौ, भत्काउनु भएन प्रशासन लगायतका माथिल्लो निकाय जान्छौ’ उनले भने ।कार्यालयमा प्रमुख तिम्सिाना सहित १० जना कर्मचारी कार्यरत छन् । त्यसमा अधिकाँश प्राविधिक छन् ।नाला थुनेर नहरमा पानी फाल्ने पर्खाल बन्दा समेत कार्यालय उदासिन छ । स्थानीयले निर्माण सुरु भएपछि रोक्न माग गर्दै पटक पटक आग्रह गरेका थिए ।कार्यालय प्रमुख तिम्सिनाले त्यसलाई वेवास्ता गरी पर्खाल बनाउन दिएको स्थानीयको आरोप छ । कार्यालय प्रमुखले वेवास्ता गरेपछि केही दिन अघि स्थानीयले उनसित आक्रोश पोखेका थिए ।


















Discussion about this post