प्रधानमन्त्री समक्ष सहकारी महासंघको ध्यानाकर्षण

सार्थक ब्यूरो ।प्रधानमन्त्री केपी शर्मा ओली समक्ष राष्ट्रिय सहकारी महासंघले सहकारी क्षेत्रलाई नियन्त्रण गर्ने नाममा संकुचन नगर्न अनुरोध गरेको छ। बालुवाटारमा मंगलबार प्रधानमन्त्रीसँगको भेटमा महासंघकी अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको टोलीले सहकारीहरूको हालको अवस्था र चुनौतीबारे ध्यानाकर्षण गराएको हो।
भेटमा महासंघले नेपाल राष्ट्र बैंक र सहकारी प्राधिकरणले ल्याएका पछिल्ला निर्देशन र मापदण्ड सहकारीको वास्तविक कार्यविधिसँग मेल नखाने बताएका छन्। विशेषगरी निक्षेप संकलनमा १० प्रतिशतको सीमा र ऋण प्रवाहमा १५ प्रतिशतको सीमा लगाइएकाले यसले सहकारीको आधारभूत उद्देश्यमै असर पर्ने चिन्ता महासंघले व्यक्त गर्‍यो।
महासंघले सदस्य बनेको तीन महिनापछि मात्र कारोबार गर्न पाउने जस्ता नियमहरू व्यवहारिक नभएको उल्लेख गर्दै त्यसलाई संशोधन गर्न आग्रह गरेको छ।
भेटमा नेकपा एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभाग प्रमुख खगराज अधिकारी, पूर्वमन्त्री तथा महासंघका पूर्व अध्यक्ष केशव बडाल, सहकारी मन्त्रालयका सचिव केदारनाथ शर्मा लगायतको उपस्थिति थियो।
प्रधानमन्त्री ओलीले सहकारी क्षेत्रलाई व्यवस्थित र दिगो बनाउने उद्देश्यले सरकार कानुन, नीति र निर्देशन ल्याउने प्रक्रियामा रहेको बताएका छन्। उहाँले सहकारीको सहज सञ्चालनका लागि आवश्यक सहजीकरण गरिने आश्वासन पनि दिनुभयो।
सहकारीसम्बन्धी केही कानुनलाई प्रतिस्थापन गर्न सरकारले ल्याएको विधेयकका केही प्रावधानमा परिमार्जन आवश्यक भएको भन्दै महासंघले सुझावसमेत बुझाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित