सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पसले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै

सार्थक ब्यूरो । सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ । विश्वविद्यालय केन्द्रीय क्याम्पसले गुणस्तरीय शिक्षा र दिगो विकासमा उदीयमान अनुसन्धान प्रवृत्ति र नव प्रवर्तनहरुको बहुविधागत अनुसन्धान विषयमा असार १३ र १४ गते सम्मेलन गर्न लागेको हो ।
सम्मेलनमा नेपाल सहित भारत, अमेरिका, बेलायत र डेनमार्कका प्रतिनिधि सहभागी हुन लागेका छन् । त्यसमा प्राध्यापक, अनुसन्धानकर्ता, विज्ञ, शिक्षाविद्, शिक्षक, विद्यार्थी सहभागी हुने भएका छन् ।
केन्द्रीय क्याम्पसको स्कुल अफ इन्जिनियरि भवनमा सम्मेलन तयारी गरिएको छ । केन्द्रीय क्याम्पसका प्रिन्सिपल कुम्भ बहादुर चन्द नेतृत्वको समितिले सम्मेलन तयारी गरि रहेको छ ।
केन्द्रीय क्याम्पसले मंगलबार पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय सम्मेलनबारे जानकारी गराएको छ ।
विश्वविद्यालयको शिक्षा शास्त्र संकायका उप प्राध्यापक डा. मदन सिह देउपाले विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न, अध्ययन अनुसन्धानका क्षेत्रका जानकारी आदानप्रदान, विद्यार्थी शिक्षकहरुलाई अनुसन्धानका लागि उत्पेरित गर्न र विश्वविद्यालय र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि सम्मेलन गर्न लागिएको बताए ।
‘विश्वविद्यालय उच्च शिक्षा प्रदायक निकाय हो, आफ्नो शैक्षिक गुणस्तर वृद्धि गर्न, समाजमा भएका नयाँ अध्ययन अनुसन्धान सम्बन्धि जानकारी गराउन, विकास भएका नयाँ ज्ञान प्रविधि विकास सम्बन्धि अनुभव आदानप्रदान गर्न यो सम्मेलन आयोजना हुन लागेको छ’ पत्रकार सम्मेलनमा उनले भने,‘विश्वविद्यालयको यो दायित्व पनि हो, यसबाट विद्यार्थीहरुलाई अध्ययन अनुसन्धानका लागि सहयोग पुग्छ ।’
डा. देउपाले सम्मेलनबाट प्रविधि र अनुसन्धानका क्षेत्रमा विश्वविद्यालयको सम्बन्ध विस्तार हुने बताए । भारतको एक्जोरा रिसर्च एसोसिएसन झारखण्डको सहकार्यमा सम्मेलन गर्न लागिएको हो ।
विश्वविद्यालय अनुदान आयोग, सुदूरपश्चिम विश्वविद्यालय, नेपाल अनुसन्धान, नव प्रवर्तन तथा विकास केन्द्र लगायतले सम्मेलनका लागि सहकार्य गरेका छन् ।
२ सय ५० जना सहभागी हुने सम्मेलनमा १ सय १७ ओटा शोधपत्र प्रस्तुत गरिने जानकारी दिइएको छ । यसमा ४८ शोधपत्र अनलाइनबाट प्रस्तुति हुने बताइएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. हेमराज पन्तले सम्मेलन उद्घाटन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।विभिन्न समिति बनाएर सम्मेलन तयारी थालिएको छ । सम्मेलनमा दुई ओटा प्यालन छलफल राखिएका छन् ।
विश्वविद्यालयका उप प्राध्यापक डा. गम्भीर चन्दले अनुसन्धानको अवस्था र कृत्रिम बौद्धिकता(एआई) प्रयोग सम्बन्धि प्यानल छलफल हुने बताए ।काठमाडौ विश्विद्यालयका डा. यज्ञराज पाण्डेय सहित छलफलमा सहभागी हुने उनले बताए ।
पत्रकार सम्मेलनमा केन्द्रीय क्याम्पसका प्रिन्सिपल चन्द सहित डा. देउपा, उप प्राध्यापकहरु डा. चन्द, कर्ण देब भट्ट, डा. दिपकचन्द्र भट्ट, राजेन्द्र जोशी, हरि सिह साउँद, मदन सिह बोहरा लगायत पत्रकार सम्मेलनमा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित