सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट बुधबार प्रदेश सभाबाट पारित भएको छ। बजेटमाथि सत्तारूढ गठबन्धनभित्रकै सांसदहरूले गम्भीर आलोचना गरे पनि अन्ततः सर्वसम्मतिले पारित गरिएको हो।
बजेटमाथिको छलफलका क्रममा सत्तारूढ दल नेकपा एमालेका सांसद धर्मराज पाठकले बजेटमा बदमासीु भएको भन्दै छानबिन समिति गठनको माग गरे। उनले खुल्लमखुल्ला बजेटमार्फत कमिशन र भ्रष्टाचार भएको दाबी गर्दै भौतिक पूर्वाधार मन्त्रालयप्रति नैतिक प्रश्न उठाए। “हाकाहाकी पैसा लिएको कुरा उठिरहेको छ, प्रमाण दिन तयार छन् सांसदहरू,” भन्दै पाठकले बजेटमा भएका अनियमितताको छानबिन गर्न जोड दिए।
बजेट बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले कुल ३३ अर्ब ४७ करोड ६० लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरे। सो बजेटमा पुँजीगत खर्चतर्फ १९ अर्ब ८३ करोड ५९.२५५ र चालू खर्चतर्फ १० अर्ब २० करोड ३०.४९५ छुट्याइएको छ।
एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको अभिव्यक्ति पनि विवादमा आयो। उनले विपक्षी दलतर्फ संकेत गर्दै भने, “बाँदरले न आफ्नो घर बनाउँछ, न अरूको बन्न दिन्छ।” माओवादी केन्द्रका सांसद मानबहादुर धामीले यो अभिव्यक्तिलाई आपत्तिजनक र नियमविपरीत भन्दै रेकर्डबाट हटाउन आग्रह गरेपछि सभामुख भण्डारीले छानबिनपश्चात् हटाउने बताए।
रावलले थपे, “तपाईंहरू हार्नुभएको छ, हार्नेले चपरीमुनी बस्नुपर्छ, त्यही बस्नुस्।” यस्तो अभिव्यक्तिले बैठकमा राजनीतिक वातावरण तातिएको देखियो।
हाल सुदूरपश्चिममा नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सरकार छ। विपक्षमा माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र स्वतन्त्र सांसदहरू रहेका छन्।


















Discussion about this post