सार्थक ब्यूरो ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतको नेपाल कम्प्याक्टलाई निरन्तरता दिने निर्णय अमेरिकाले गरेको छ। अमेरिकाको यस निर्णयप्रति मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल (एमसिए–नेपाल) ले स्वागत गर्दै आभार व्यक्त गरेको छ।
एमसिए–नेपालद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले विदेश सहयोग कार्यक्रमहरू पुनरावलोकन गरिरहेको अवस्थामा एमसिसी नेपाल कम्प्याक्टलाई विशेष छुट दिँदै कार्यान्वयनको अनुमति दिएको छ। हामी यस निर्णयप्रति आभारी छौं।”
एमसिसी परियोजनाअन्तर्गत हाल तीनवटा सबस्टेशन र करिब १८ किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइन निर्माणको काम अघि बढिरहेको छ। यी संरचनाहरू अमेरिकी सहयोग पुनरावलोकन सुरु हुनु अघि नै प्रारम्भ गरिएका थिए र ती कार्यहरू अब निरन्तरता पाइरहेका छन्।
एमसिए–नेपालका अनुसार, यी पूर्वाधार परियोजनाले नेपालको ऊर्जा तथा यातायात क्षेत्रमा दीर्घकालीन सकारात्मक प्रभाव पार्नेछन्। साथै, सम्पूर्ण काम तोकिएको समयमा प्रभावकारी रूपमा सम्पन्न गरिने प्रतिबद्धता पनि जनाएको छ।


















Discussion about this post