सार्थक ब्यूरो ।अबदेखि कुनै पनि बैंक वा वित्तीय संस्थामा खाता खोल्दा वा सेवा लिँदा हरेक पटक छुट्टाछुट्टै केवाइसी (KYC– ग्राहकको विवरण फारम) बुझाउन नपर्ने भएको छ।
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिअनुसार अब ग्राहकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत सिधै बैंक तथा वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था मिलाइनेछ।
यसअघि एक व्यक्तिले तीन वटा बैंकमा खाता खोल्दा तीनवटै ठाउँमा फरक–फरक केवाइसी फारम भरेर बुझाउनुपर्ने झन्झट थियो। यसबारे धेरै गुनासो आइरहेपछि राष्ट्र बैंकले अब एउटै विवरणबाट सबै बैंकलाई सेवा दिने प्रणाली ल्याउन लागेको हो।
अब ग्राहकले कुनै एउटा बैंकमा आफ्नो केवाइसी विवरण अद्यावधिक गरेपछि अन्य बैंक वा वित्तीय संस्थाले त्यसलाई विद्युतीय माध्यमबाट राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत प्राप्त गर्न सक्नेछन्। यसका लागि आवश्यक प्रविधि र पूर्वाधार विकासमा राष्ट्र बैंकले सहजीकरण गर्नेछ।
नयाँ प्रणाली अन्तर्गत, ग्राहकले एउटा केवाइसी विवरण दिएपछि त्यससँग सम्बन्धित “पहिचान नम्बर” प्राप्त गर्नेछन्। उक्त नम्बर प्रयोग गरेर कुनै पनि बैंक वा वित्तीय संस्थाले सोही व्यक्तिको विवरण सहज रूपमा प्राप्त गर्न सक्नेछन्।
यसबाट सेवाग्राहीको समय, श्रम र दोहोरो विवरण दिने झन्झटबाट मुक्ति मिल्ने छ भने बैंकहरू पनि थप प्रभावकारी र एकीकृत सेवा दिन सक्षम हुने राष्ट्र बैंकको विश्वास छ।


















Discussion about this post