राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न आज ५० अर्ब खिच्दै, बैंकहरूमा लगानीभन्दा निक्षेप बढी

सार्थक ब्यूरो । चालु आर्थिक वर्षको अन्तिम महिना असारसँगै बैंकिङ क्षेत्र तरलताले भरिएको छ । नयाँ ऋण लगानी लगभग ठप्प छ भने बैंकमा निक्षेप भने निरन्तर बढिरहेको छ । बैंकहरूले असार महिनामा नयाँ कर्जा लगाउन खासै चासो देखाएका छैनन्, किनभने यो महिना मुख्यतया व्यापारिक ऋण र प्रतितपत्र (LC) को काम मात्र हुने गर्दछ ।
यही परिस्थितिमा बैंकहरूमा थुप्रिएको लगानीयोग्य तरलता व्यवस्थापन गर्न राष्ट्र बैंक आज (आईतबार) ५० अर्ब रुपैयाँ बजारबाट खिच्दैछ । राष्ट्र बैंकले लामो अवधिका निक्षेप संकलन उपकरणमार्फत बजारबाट रकम संकलन गर्दैछ ।
बैंकहरूमा कर्जा प्रवाह घट्दो छ, तर सरकारी खर्च, विकास निर्माणको तिव्रता र रेमिट्यान्सको आप्रवाहका कारण निक्षेपको आकार भने झनै बढिरहेको छ । यसले गर्दा वित्तीय प्रणालीमा ‘अधिक तरलता’ (excess liquidity) को अवस्था देखिएको हो ।
राष्ट्र बैंकले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार जेठ महिनामा मात्रै १ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो ११ महिनामा (साउनदेखि जेठसम्म) १५ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.५ प्रतिशतले बढी हो ।
यसरी वित्तीय प्रणालीमा बाह्य स्रोत बलियो देखिए पनि आन्तरिक बजारमा लगानीको माग नबढेपछि बैंक तथा वित्तीय संस्थाहरूले थुप्रिएको रकम व्यवस्थापन गर्न कठिनाइ भोगिरहेका छन् ।
अब सरकार र राष्ट्र बैंकको चुनौती भनेको यो तरलतालाई उत्पादनशील क्षेत्रमा कसरी मोड्ने भन्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित