सार्थक ब्यूरो । सत्ता गठबन्धनलाई थप सुदृढ गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपालका शीर्ष नेताहरूबीच सोमवार साँझ बालुवाटारमा महत्वपूर्ण छलफल सम्पन्न भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए। बैठकमा एमालेका उपाध्यक्ष तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव एवं प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, कांग्रेसका वरिष्ठ नेता तथा गृहमन्त्री रमेश लेखक र जसपाका नेता राजकिशोर यादव पनि सहभागी थिए।
स्रोतका अनुसार, पछिल्लो समय जसपा नेपालले सरकारलाई दिएको समर्थन पुनः विचार गर्ने संकेत दिएपछि सत्ता साझेदार दलहरूबीच मतभेद चिर्दै गठबन्धन बलियो बनाउने पहलस्वरूप छलफल गरिएको हो। बैठकमा वर्तमान सरकारलाई दिने समर्थन, आगामी बजेट कार्यान्वयन, आगामी संघीय निर्वाचनमा सम्भावित सहकार्य तथा गम्भीर विषयमा साझा धारणा बनाउन आवश्यक संवाद केन्द्रित भएको जनाइएको छ।
जसपाले हालै सरकारप्रतिको असन्तुष्टि विभिन्न माध्यमबाट सार्वजनिक गर्दै आएको छ। पार्टीको भूमिकाबारे गम्भीर छलफल गर्न शीर्ष नेतृत्व सक्रिय भएपछि गठबन्धनको संरचना र भविष्यमा असर पर्ने राजनीतिक समीकरण पुनः सन्तुलनमा ल्याउने प्रयास भइरहेको देखिन्छ।
छलफलको निष्कर्षबारे औपचारिक रूपमा कुनै धारणा सार्वजनिक नगरिए पनि बैठक सकारात्मक रूपमा सम्पन्न भएको र आगामी दिनमा निरन्तर संवादमार्फत सहकार्य बलियो बनाइने सहभागी नेताहरूले बताएका छन्।
यसअघि जसपा नेपालले बजेट वितरणमा क्षेत्रीय असन्तुलन, सीमित सहभागिता, तथा मन्त्रिपरिषद् विस्तारको ढिलाइप्रति असन्तुष्टि जनाउँदै आएको थियो।
राजनीतिक विश्लेषकहरूका अनुसार, हालको गठबन्धनभित्रको आपसी अविश्वास चिर्न सकिएन भने सरकारले नीति निर्माण र कार्यान्वयनमा थप कठिनाइ भोग्नुपर्ने देखिन्छ।


















Discussion about this post