रास्वपाको नामबाट ‘स्वतन्त्र’शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी

सार्थक ब्यूरो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। आफूलाई अभियन्ताका रूपमा चिनाउँदै आएका युवराज सफलले रास्वपाको नाममा परेको स्वतन्त्र शब्द हटाउन माग गर्दै आयोगमा उजुरी दिएका हुन्।
सफलले ‘स्वतन्त्र’ शब्द जोड्नुले स्वतन्त्र उम्मेदवारहरूको पहिचान र अधिकारमाथि प्रहार भएको तर्क गरेका छन्। कुनै पनि राजनीतिक दल निश्चित विचार, सिद्धान्त र कार्यक्रममा आधारित हुन्छ। तसर्थ, दल आफैँमा स्वतन्त्र हुन सक्दैन। यो शब्दले आम मतदातामा भ्रम छरेको छ र स्वतन्त्र उम्मेदवारहरूको हक खोसेको छ,’ निवेदनमा भनिएको छ।
यस्तै, निवेदनमा रास्वपाको चुनाव चिह्न ‘घण्टी’ प्रति पनि गम्भीर आपत्ति जनाइएको छ। ‘घण्टी’ नेपालका बहुसङ्ख्यक हिन्दु धर्मावलम्बीहरूको आस्था र विश्वाससँग जोडिएको धार्मिक प्रतीक भएकाले यसलाई राजनीतिक दलको चुनाव चिह्न बनाउनु धार्मिक मान्यतामाथिको प्रहार भएको सफलको जिकिर छ।
‘हिन्दु धर्मावलम्बीले पूजापाठमा प्रयोग गर्ने पवित्र घण्टीलाई चुनाव चिह्न बनाएर यसको राजनीतिक दुरुपयोग गरियो,’ निवेदनमा उल्लेख छ, ‘धर्म निरपेक्ष मुलुकमा कुनै एक धर्मको आस्थाको प्रतीकलाई दलको चिन्ह बनाउन मिल्दैन।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित