सार्थक ब्युरो। भीमदत्त नगरपालिकामा पछिल्लो आठ वर्षदेखि एशियाली विकास बैंकको सहयोगमा क्षेत्रीय शहरी विकास कार्यक्रम (आरयूडिपी) सञ्चालन हुँदै आएको छ। उक्त कार्यक्रम अन्तर्गत सडक तथा ढल निर्माणका काम भइरहेका छन्। तर, ती योजना कहिले कहाँ पुग्ने भन्ने कुरा योजनाको आवश्यकताभन्दा राजनीतिक पहुँच र दबाबमा निर्भर हुने गरेको छ।
उदाहरणका लागि, नगरको वडा नं ३ तिलकपुर र वडा नं १८ कटानमा शहरी विकास तथा भवन निर्माण शाखा धनगढीबाट नयाँ सडक निर्माणको काम भइरहेको छ, जहाँ यसअघि नै आरयूडिपी अन्तर्गत सडक र ढल निर्माण भइसकेको थियो। सरोकारवालाहरूका अनुसार पहुँच भएका नेताले थप बजेट तानेर टुक्रे योजना ल्याउने प्रवृत्ति बढ्दो छ।
यता बाढीको उच्च जोखिममा रहेको बेलौरी नगरपालिकामा भने यस्ता योजना पुग्न सकेका छैनन्। सडक, नाला वा अन्य पूर्वाधारको आवश्यकता बढी भएको ठाउँमा योजना नपुगे पनि पहुँच भएको क्षेत्रमा भने दोहोरो बजेट खपत भइरहेको छ।
त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको सामाजिक विकास कार्यालय कञ्चनपुरले नेपाल संस्कृति विश्वविद्यालयको आंगिक क्याम्पस शारदा विद्यापीठका लागि पुराण पुस्तक खरिद गर्न १० लाख रुपैयाँ विनियोजन गरेको छ। तर, भीमदत्त नगरपालिका–१४ स्थित शान्ति आधारभूत विद्यालय भवन अभावको चपेटामा रहे पनि बजेट पाउन सकेको छैन। विद्यालय व्यवस्थापन समितिका अनुसार राजनीतिक पहुँचको अभावका कारण उनीहरू बजेटबाट वञ्चित छन्।
गत वर्ष २३ असारमा बाढीले भत्काएको बेलडाँडी गाउँपालिका–१ स्थित सरस्वती मावि जोड्ने झर्नाखोलाको पुल अझै पुनर्निर्माण हुन सकेको छैन। विडम्बना त के छ भने, यो पुल पुनर्निर्माणका लागि न संघीय, न प्रदेश र न स्थानीय सरकारले नै बजेट विनियोजन गरेका छन्। तर, त्यही पालिकाभित्र कम प्राथमिकताका क्षेत्रमा भने बजेट छुट्याइएको छ।
स्थानीयवासी रमेश रानाका अनुसार योजनाको छनोटमा जनसहभागिता भन्दा राजनीतिक पहुँच, नेताको दबाब र जनप्रतिनिधिको प्रभाव हाबी हुने गरेको छ। भीमदत्त, बेलडाँडी र बेतकोट नगरपालिकाजस्ता स्थानीय तहहरूमा बजेट तर्जुमा तथा योजना छनोट प्रक्रियामा प्राविधिक दृष्टिकोणभन्दा पनि पहुँच र हस्तक्षेपले मुख्य भूमिका खेल्ने गरेको उनी बताउँछन्।
उनका अनुसार, बस्तीस्तरबाट आएका आवश्यक योजना विभिन्न तहका सरकारले काट्दै आफू अनुकूलका योजना मात्र पारित गर्ने गरेको पाइन्छ। त्यसै कारण, दीगो विकासका लागि आवश्यक पूर्वाधार निर्माण प्रभावकारी हुन नसकेको देखिन्छ।








Discussion about this post