सार्थक ब्युरो। बेलौरी क्षेत्रमा देखिएको बाघको खोजीमा गएको हात्तीसहितको टोली दुई दिनपछि रित्तो हात फिर्ता भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले तीन हात्ती र प्राविधिकसहितको टोली आदर्शनगर र प्रगति टोल क्षेत्रमा बाघ खोज्न पठाएको थियो।निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले दिएको जानकारीअनुसार खोजी टोलीमा ‘रुपकली’ नामकी पोथी हात्ती र ‘लव प्रसाद’ र ‘सिद्ध प्रसाद’ नामका दुई भाले हात्ती थिए। उनीहरूले बेलौरी नगरपालिका–९ मा पर्ने आदर्शनगर र प्रगति टोल आसपासका उखुबारीमा दुई दिनसम्म खोजी गरे।तर खोजीको क्रममा बाघको कुनै पनि पक्का संकेत नदेखिएपछि शुक्रबार दिउँसो टोली फिर्ता गरिएको वाग्लेले बताए। उनका अनुसार उक्त क्षेत्रमा चितुवा देखिएको हुनसक्ने अनुमान गरिएको छ।
बेलौरी–९ का वडाध्यक्ष किसनसिंह रानाले बाघ र चितुवाको त्रासले स्थानीय बासिन्दा डरमा रहेको बताए। जनावरबाट सुरक्षित रहन वडाले जनचेतनामूलक सूचना जारी गर्दै आएको पनि उनले जानकारी दिए।
यसअघि असारको पहिलो साता चितुवाले स्थानीय शंकर भट्टको गोठमा पसेर बाख्रा मारेको घटना सार्वजनिक भएको थियो। यस्तै, मंगलबार दिउँसो आदर्शनगर र प्रगति टोलमा बाघजस्तो देखिने जनावर दुई डमरुसहित देखिएको भन्दै स्थानीयले निकुञ्जलाई खबर गरेका थिए।
बुधबार साँझ बेलडाँडीमा बास बसेको हात्ती टोली बिहीबार बेलौरीको वैजनाथ सामुदायिक वनमा सरेर खोजीमा जुटेको थियो। खोजीमा निकुञ्जका प्राविधिक, सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय जनप्रतिनिधि समेत सहभागी थिए।
टोलीमा सहभागी निकुञ्जका पशु चिकित्सक आभास श्रेष्ठका अनुसार चितुवाले मान्छेलाई कम हानी पुर्याउने तर पालतु जनावरमा आक्रमण गर्ने प्रवृत्ति भएकाले स्थानीयलाई सचेत रहन आग्रह गरिएको हो। अन्ततः कुनै प्रस्ट प्रमाण नपाएपछि टोलीलाई निकुञ्जको कार्यालयमा फिर्ता बोलाइएको श्रेष्ठले जानकारी दिए।








Discussion about this post