मृतक सम्झना भट्ट । तस्बिर : मृतकको – फेसबुकबाट
सार्थक ब्युरो। कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित सिहपाल टोलमा एक युवती झुन्डिएको अवस्थामा मृत फेला परेकी छन्। आइतबार दिउँसो सम्झना भट्ट आफ्नै घरभित्र झ्याल ढोकामा चुकुन लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन्।घटनापछि प्रहरीले सम्झनाका श्रीमान् पवन भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार, सम्झनाको शरीरमा चोटपटक देखिएको र घरेलु हिंसाका संकेत पाइएकाले पवनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।
सम्झनाका बुवा भोजराज भट्टले छोरीमाथि श्रीमानबाट पटक–पटक मानसिक तनाव र शारीरिक हिंसा हुँदै आएको आरोप लगाउनुभएको छ। शनिबारमात्रै घरायसी झगडाको उजुरी इलाका प्रहरी कार्यालय बेलडाँडीमा दिइएको र प्रहरीद्वारा सम्झाइबुझाइ गरेर छोरीलाई पुनः घर फर्काइएको थियो। तर त्यसको भोलिपल्टै छोरी मृत अवस्थामा भेटिनु शङ्कास्पद रहेको भट्टको भनाइ छ।गत फागुनमा प्रेम विवाह गरेका सम्झना र पवनबीच वैवाहिक जीवन खासै सहज थिएन। निरन्तरको तनाव र हिंसाले थिचिएकी छोरीको मृत्यु भएको भन्दै भट्ट परिवार न्यायको खोजीमा छ। “छोरीलाई पटक–पटक यातना दिने, मानसिक रूपमा दबाब दिने, अन्त्यमा यस्तो अवस्था आउनु दुःखद छ,” भट्टले पीडा पोख्नुभयो।कक्षा १२ मा अध्ययनरत आफ्नी छोरी गुमाएपछि भट्ट परिवारमा शोकको छायाँ छाएको छ। उहाँले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गर्नुभएको छ।








Discussion about this post