सार्थक ब्युरो।कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीस्थित इको पार्कमा हालै सामूहिक बृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालय, नेपाली सेना, एनएनएसडब्लुए, र डिसए नेपालको संयुक्त आयोजनामा “ग्रीन सिटी, क्लिन सिटी” नारासहित आयोजित यस अभियानमा विभिन्न प्रजातिका बिरुवा रोपिएका छन्। वडाध्यक्ष रबिन्द्र प्रसाद देवकोटाका अनुसार यो अभियानले पार्कको सौन्दर्यकरण मात्र होइन, वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
तर, यस्ता अभियानले दिगो परिणाम दिन नसक्नुको मुख्य कारण संरक्षणमा देखिने कमजोरी हो। नेपालमा बृक्षारोपणका कार्यक्रमहरू हरेक वर्ष भव्य रूपमा आयोजना हुने गरेका छन्, तर त्यसपछि बिरुवाको हेरचाहमा बेवास्ता गरिन्छ। परिणामस्वरूप, रोपिएका बिरुवा सुख्खा, चराचुरुङ्गी वा जनावरको आक्रमणका कारण नष्ट हुने गरेका छन्।
स्थानीयहरूको टिप्पणी अनुसार, २०४८ सालदेखि विभिन्न अवसरमा गरिएको बृक्षारोपणको हिसाब राख्ने हो भने, रोपिएका बिरुवाको संख्या पार्कको वास्तविक क्षेत्रफलभन्दा धेरै गुना बढी पर्छ। यसले स्पष्ट पार्छ कि रोपाइँ भए पनि टिकाइँ नभएको अवस्था छ। वातावरण संरक्षणका दृष्टिले यो गम्भीर समस्या हो।
इको पार्कमा गरिएको यो बृक्षारोपण सराहनीय पहल हो, तर यसको सफलताको मापन पाँच वा दस वर्षपछि मात्र गर्न सकिन्छ। हरित अभियानको सार रोपाइँ मात्र होइन, त्यसको संरक्षण र दीर्घकालीन पालनपोषणमा निहित छ। यदि यो कुरा प्राथमिकतामा राखिएन भने, २०४८ सालदेखि दोहोरिँदै आएको “रोपियो तर टिकेन” भन्ने इतिहास फेरि दोहोरिन सक्छ।








Discussion about this post