सार्थक ब्युरो।जिल्लाका दुर्गम र पहुँचविहीन क्षेत्रमा रहेका नागरिकलाई छिटो र सहज सेवा उपलब्ध गराउन स्थानीय तहको पहलमा राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको कार्य तीव्र गतिमा अघि बढाइएको छ।
पहिले जिल्ला प्रशासन कार्यालय र पुर्चौंडी इलाका प्रशासन कार्यालयमार्फत मात्र चल्ने परिचयपत्र विवरण सङ्कलन अब स्थानीय तहकै सहकार्यमा विस्तार गरिएको हो। यस क्रममा डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा विशेष दर्ता शिविर सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जानकारी दिए।
राष्ट्रिय परिचयपत्र सामाजिक सुरक्षा भत्ता, बैँक खाता खोल्ने, सरकारी तथा गैरसरकारी सेवा लिन अनिवार्य भएकोले सदरमुकामसम्म पुग्न नसक्ने नागरिकका लागि गाउँमै सुविधा पुर्याउने व्यवस्था मिलाइएको हो।
डिलाशैनी गाउँपालिका–६ डडियामा रहेको वडा कार्यालयमा साउन मसान्तसम्म र मेलौली नगरपालिकाको कार्यालयमा भदौ १ गतेसम्म शिविर सञ्चालन हुनेछ। साथै, मेलौली नगरपालिकाले भदौ २ र ३ गते सलेना क्षेत्रमा पनि शिविर चलाउनेछ।
यसअघि दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकामा सम्पन्न शिविरमार्फत करिब एक हजार पाँच सय नागरिकको विवरण संकलन भइसकेको पौडेलले बताए। निकट भविष्यमा सिगास, पञ्चेश्वर, सूर्नया लगायतका दुर्गम गाउँपालिकामा पनि यस्तै शिविर सञ्चालनको तयारी भइरहेको छ।
हाल पुर्चौंडी नगरपालिकामा इलाका प्रशासन कार्यालयमार्फत र दशरथचन्द नगरपालिकामा जिल्ला प्रशासन कार्यालयमार्फत परिचयपत्र वितरण निरन्तर भइरहेको छ।जिल्ला प्रशासन कार्यालयका अनुसार, यस अभियानबाट नागरिकलाई सरकारी सेवा, सामाजिक सुरक्षा, र अन्य अवसरहरूमा परिचयपत्रको सहज पहुँच मिल्नेछ र सेवा प्रवाह अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।








Discussion about this post