युवालाई सिप र रोजगारीमा जोड्दै परिवर्तनको नेतृत्व गर्नुपर्नेमा मुख्यमन्त्री शाहको जोड

सार्थक ब्युरो।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले युवाशक्तिलाई परिवर्तनसँग जोड्दै रोजगारी सिर्जना गर्नुपर्नेमा बल दिनुभएको छ।
अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ का अवसरमा मङ्गलबार कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियामा आयोजित कार्यक्रममा उहाँले नेपाली जनताको हक–अधिकार स्थापना गर्ने आन्दोलनको नेतृत्व सधैं युवाले नै गर्दै आएको स्मरण गर्नुभयो। उहाँका अनुसार युवा रूपान्तरणका सद्भावका वाहक मात्र नभई परिवर्तनका प्रमुख संवाहक हुन्।

मुख्यमन्त्री शाहले प्रदेशमै युवाका लागि रोजगारी सिर्जना गर्न नवप्रवर्तन, स्टार्टअप कार्यक्रम र सिप–रोजगारी परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो। साथै, युवालाई लागुऔषध दुव्र्यसनबाट जोगाउन विभिन्न जनचेतनामूलक कार्यक्रम समेत अघि बढाइएका छन्।

सो कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, नेकपा (एमाले)का नेता नारदमुनि राना, कमलावली, गौरीशङ्कर चौधरी, नेपाली कांग्रेसका नेता नृप सुनार, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरलगायतले युवाको भूमिकाबारे धारणा राखे।

यस अवसरमा मुख्यमन्त्री शाहले टीकापुरका अरुण लोहारलाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभयो। लोहारले देशका विभिन्न स्थानमा निःशुल्क खगोल विज्ञानसम्बन्धी गतिविधि गर्दै आएका छन्।

कार्यक्रम सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष गजेन्द्र साउदको अध्यक्षतामा सम्पन्न भयो। उपाध्यक्ष साउदले युवा वर्तमानको साक्षी र भविष्यको मेरुदण्ड भएको उल्लेख गर्दै राष्ट्रनिर्माण, आर्थिक विकास र समृद्धिका लागि युवाहरू एकजुट हुनुपर्नेमा जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित