सार्थक ब्युरो।भारतपारि बलेको उज्यालो टुलुटुलु हेरेर अँध्यारोमा बस्दै आएका शिवनाथ गाउँपालिकाका बासिन्दाको वर्षौंको बिजुली बाल्ने सपना अन्ततः पूरा भएको छ।
विद्युत् वितरण केन्द्र बैतडीका कार्यालय प्रमुख जनार्दन पौडेल नेतृत्वको प्राविधिक टोलीले मध्यराति २ बजेसम्म कार्यक्षेत्रमै खटिएर शिवनाथ गाउँपालिका–२ र ३ नम्बर वडाका करिब ३०० घरधुरीमा बिजुली बाल्न सफल भएको हो।
गाउँपालिकाका अध्यक्ष कर्ण साउदले भने, “शिवनाथवासीको सपना पूरा भयो। कार्यालय प्रमुख आफैं काममा खटिएपछि म पनि रातभर कार्यक्षेत्रमै बसेँ।”
लामो समयको प्रतीक्षा र कठिन परिश्रमपछि गाउँमा उज्यालो देखिँदा स्थानीयवासीले पनि जाग्राम बसेर खुसी साटेका छन्।
विद्युत् वितरण केन्द्रको आफ्नै लगानीमा सोमबार शिवनाथका यी दुई वडामा बिजुली प्रवाह गरिएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए।
हाल बैतडीका ४५ हजार घरधुरीमध्ये २७ हजारमा मात्र बिजुली पुगेको छ। शिवनाथका बासिन्दाले भने यो उपलब्धिलाई आफ्नो जीवनमा आएको ठूलो परिवर्तनका रूपमा स्वागत गरेका छन्।








Discussion about this post