सार्थक ब्युरो।हिन्दु महिलाहरुको महान चाड तीजले नेपालको सांस्कृतिक जीवनमा विशेष महत्व राख्छ । तर पछिल्ला वर्षमा तीजको रौनक घर–घर र गाउँ–सहरका चोकमा कम हुँदै, होटल र पार्टी प्यालेसमा सीमित हुने प्रवृत्ति बढेको छ। सुनचाँदी पसलदेखि साडी–सुट, बुटिक र कस्मेटिक पसलसम्म ग्राहकको भीड देखिए पनि यसपाली व्यापार अपेक्षाकृत सुस्त देखिएको छ। सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि तीजको अवसरमा कार्यक्रम आयोजना गरिरहे पनि त्यो परम्परागत आत्मीयता र सांस्कृतिक मूल्य झल्किने अवस्था छैन।
धनगढी पुष्पलाल चोककी ६० वर्षीया बेलु बैस्यले मौलिक तीज हराउँदै गएकोमा दुःख व्यक्त गर्दै भनिन्, “हाम्रो पालामा दिदी–बहिनी स्कुल मैदान वा ठूलो चौरमा भेला भएर गीत–संगीत र नाचगान गर्थ्यौं। अहिले तीज होटलमा मात्रै सीमित भएको छ। पहिलेको जस्तो रौनक हराएको छ, बेथिति मात्र बढेको छ।” उनले अहिलेको तीजलाई प्रतिस्पर्धा र देखावटी पर्व भएको बताइन्, जहाँ दिदी–बहिनी भेट्दा दुख–सुखको साटासाट नभई गहना र महँगो सारी प्रदर्शन मात्रै प्राथमिक बन्न पुगेको छ।
व्यापार क्षेत्रमा पनि यो प्रवृत्तिले मिश्रित प्रभाव देखाएको छ। धनगढी हुलाकरोडस्थित न्यू पशुपति सुनचाँदी पसलका सञ्चालक विवेक सोपका अनुसार, “पहिले दैनिक भीड हुन्थ्यो, तर यसपाली ग्राहकको संख्या धेरै घटेको छ। सुनको मूल्य र अनलाइन व्यापारले भौतिक पसलको चहलपहल घटाएको छ।”
अनलाइन कारोबारको बढ्दो प्रभावले स्थानीय बुटिक र पसललाई ठूलो चुनौती दिएको छ। सल्मा बुटिककी सञ्चालक सल्मा कुँवरले बताइन्, “पहिले दैनिक १ सय ५० सम्म ग्राहक आउँथे, अहिले २५–३० मात्र आउँछन्। अनलाइन अर्डर बढे पनि भौतिक व्यापार घाटामा छ।” ग्राहकहरू घरमै बसेर मोबाइलमार्फत सामान अर्डर गर्न थालेपछि पसलमा भीड घटेको छ, जसले मासिक खर्च व्यवस्थापनमा कठिनाइ थपेको छ।
स्थानीय बजार सुस्ताउनुको अर्को प्रमुख कारण खुला सीमा नाका रहेको व्यापारीहरूले जनाएका छन्। भारतीय सामान सजिलै प्रवेश गर्दा सस्तोमा पाइने र गुणस्तर कम हुने भए पनि ग्राहकहरूले सस्तो प्राथमिकता दिने प्रवृत्ति स्थानीय व्यवसायलाई प्रभावित बनाइरहेको छ। उद्योग वाणिज्य संघ कैलालीका अध्यक्ष पुष्प कुँवरले भने, “घरखर्चका लागि दैनिक अर्डर भएर भन्सार नलाग्दा बजार र राजश्व दुवैमा असर परेको छ।
”तीजको मौलिकता हराउँदै होटल–प्यालेस र अनलाइनमा सीमित हुनु सांस्कृतिक क्षति हो। पहिलेको जस्तो दिदी–बहिनी भेटघाट, आत्मीयता र सांस्कृतिक रौनक अहिले कम देखिन्छ। साथै, खुला सीमा नाका र अनलाइन व्यापारले स्थानीय व्यवसायलाई चुनौती दिएको छ। यसले भौतिक बजारमा व्यापार सुस्त हुनुका साथै स्थानीय उत्पादन र आर्थिक सशक्तिकरणमा पनि असर पुर्याएको छ।








Discussion about this post