सार्थक ब्युरो।भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी पर्व आज सुदूरपश्चिममा धुमधामका साथ मनाइँदैछ। विशेषगरी कैलालीको गोदावरी धाममा बिहानैदेखि बर्तालु महिलाको ठूलो भिड लागेको छ।
आज बिहानै उठेर महिलाहरूले नजिकैको नदी, खोला र धारा धाममा स्नान गरेर ३६५ वटा दत्तिउनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई शुद्धीकरण गर्ने परम्परा अनुसार पूजा गरेका छन्। त्यसपछि अरुन्धतीसहित सप्तऋषि—अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा–आराधना गरिएको छ।
गोदावरी धाममा स्नान गर्ने, शिवमन्दिर, कैवल्यनाथ र कुम्भबाटिकालगायतका धार्मिक स्थलमा पूजा गर्ने भक्तजनको भीड बाक्लो देखियो। विशेषगरी महिलाहरूले रातो–हरियो चुरा, मेहेन्दी र आकर्षक पहिरनमा सजिएर ऋषिपञ्चमी पूजा गरेका थिए।
परम्पराअनुसार, आज स्नान गरी सप्तऋषिको पूजा गरेपछि नरोपी उम्रेका अन्नजस्तै सामा, कागुनो, कन्दमूल र कर्कला खाने र एक छाक हविष्य बस्ने व्रत बस्ने चलन छ।भक्तजनहरूको भीडका कारण गोदावरी नदी र धाम परिसर पूरै रौनकपूर्ण बनेको थियो।








Discussion about this post