सार्थक ब्यूरो । सीमा विवादका कारण देशभर चिनिएका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र भित्रै पर्ने छाङ्गरु र तिङ्कर गाउँ आज पनि अन्धकारमै छन्। नेपाल सरकारले यी भूभागलाई आफ्नो क्षेत्र दाबी गरे पनि त्यहाँ बसोबास गर्ने नागरिक अझै आधारभूत सेवाबाट वञ्चित छन्।गत साउन २८ गतेको बाढीले छाङ्गरु–तिङ्कर जाने पैदल बाटो बगायो। करिब १० किलोमिटर दूरीको बाटो अहिले अवरुद्ध छ। खाद्यान्न ढुवानी रोकिन थालेपछि स्थानीय पुरानो मौज्दात खाएर बसिरहेका छन्। वडासचिव विनोदसिंह बुढाथोकी भन्छन् – “बाटो बनाउन तत्काल बजेट आउँदैन, बिरामी परे पनि ल्याउन सकिँदैन, सुरक्षाकर्मीलाई समेत आवतजावतमा कठिनाइ छ।”
तिङ्कर गाउँ तीन सातादेखि सञ्चारविहीन छ। यहाँका ७० परिवार अहिले नेपाल टेलिकमको नेटवर्कविहीन छन्। आपतकालीन अवस्थामा सुरक्षाकर्मीको सेटमै भर पर्नुपर्ने बाध्यता छ। छाङ्गरुमा कहिलेकाहीँ नमस्ते मोबाइल चल्छ, तर तिङ्करवासी अझै एक्लै परेका छन्।
गाउँपालिका उपाध्यक्ष विनोदसिंह कुँवर भन्छन् – “सीमा विवादमा हल्ला धेरै हुन्छ, तर नागरिकका आधारभूत आवश्यकता पुरा हुँदैनन्। बाटो छैन, खाद्यान्न अभाव छ, सञ्चार छैन। आवश्यकता परे हेलिकोप्टरको व्यवस्था गर्नुपर्ने अवस्था छ।”
पर्यटन अभियानकर्मी हिमालय भट्ट नेपालले पनि जोड दिए – “ओमपर्वतदेखि लिम्पियाधुरासम्म हाम्रो हो भनेर नारा लगाउने मात्र होइन, छाङ्गरु–तिङ्करसम्म सडक र पूर्वाधार तुरुन्तै बनाउनुपर्छ। विकास नै हाम्रो उपस्थिति प्रमाणित गर्ने माध्यम हो।”
हालै स्थानीय, जनप्रतिनिधि र सुरक्षाकर्मीले श्रमदान गरेर तीन वटा काठे पुल जडान गरेका छन्। यसले अस्थायी आवतजावत त सहज बनाएको छ, तर पैदल बाटो अझै जनजीवन धान्ने स्तरमा छैन। वडाध्यक्ष अशोकसिंह बोहराका अनुसार – “गाउँपालिकाले दुई वर्षअघि पैदल बाटो निर्माण गरेको थियो, तर बाढीले बगाएपछि अहिले नागरिक फेरि समस्या भोगिरहेका छन्।”
देशकै सर्वाधिक संवेदनशील भूभागमा पर्ने छाङ्गरु र तिङ्कर आज पनि बाटो र सञ्चार जस्ता आधारभूत सेवाबाट वञ्चित छन्। सीमा विवादलाई मात्र राजनीतिक एजेन्डा बनाइरहने तर नागरिकको पीडा नहेर्ने राज्यको दृष्टिभ्रमले यी गाउँहरूलाई निराश बनाएको छ।








Discussion about this post