सार्थक ब्यूरो ।दुर्लभ वन्यजन्तु र जैविक विविधताका लागि ख्यातिप्राप्त शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पछिल्ला वर्षमा पर्यटक आकर्षणमा भने कमजोर देखिएको छ। कोभिड–१९ महामारीपछिका वर्षहरूमा आन्तरिक तथा बाह्य दुवै पर्यटकको संख्यामा गिरावट आएको तथ्याङ्कले देखाउँछ।
निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा १२ हजारभन्दा बढी पर्यटक पुगेका थिए। तर महामारीपछि यो संख्या एकदमै घट्दै गएको छ। आव २०७६/७७ मा करिब १६ सय, आव २०७७/७८ मा करिब ३ हजार, आव २०७८/७९ मा २५७९, आव २०७९/८० मा ३२७८, आव २०८०/८१ मा ३७६२ र चालु आव २०८१/८२ मा ३३७१ पर्यटक मात्र पुगेका छन्। तीमध्ये विदेशी पर्यटकको संख्या त झन् न्यून छ।
पर्यटक घटेपछि निकुञ्जको राजस्वमा समेत ठूलो गिरावट आएको छ। गत आवमा प्रवेश शुल्क र सवारीसाधन शुल्कबाट जम्मा २० लाख रुपैयाँ मात्र संकलन भएको निकुञ्ज कार्यालयले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार शुक्लाफाँटामा जैविक विविधता अपार भए पनि पूर्वाधार अभाव, नेपाल–भारत सीमामा यात्राका असहजता, पर्याप्त प्रचार–प्रसार नहुनु र सीमित गतिविधि मात्रै उपलब्ध हुनु मुख्य समस्या हुन्। “जङ्गल सफारीबाहेक यहाँ पर्यटकलाई आकर्षित गर्ने नयाँ कार्यक्रम छैनन्,” वाग्लेले बताए।
पर्यटन व्यवसायी परमानन्द भण्डारीले पनि निकुञ्जको ठूलो सम्भावना सरकारको प्राथमिकतामा नपरेकै कारण खुम्चिएको धारणा राखे। “प्रचारप्रसार र पूर्वाधार विकास नभएसम्म पर्यटक यहाँ आउँदैनन्,” उनले भने। होटेल व्यवसायी सङ्घ कञ्चनपुरका पूर्वअध्यक्ष जगदीश भट्टका अनुसार विदेशी पर्यटक सहजै प्रवेश गर्न सक्ने नाकामा सहज सुविधा छैन, राज्यबाट आवश्यक लगानी नभएकै कारण पर्यटन विस्तार हुन सकेको छैन।
३ सय ५ वर्ग किलोमिटरमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज दुर्लभ वन्यजन्तुका लागि प्रसिद्ध छ। यहाँ ५६ प्रजातिका घस्रने जन्तु, १५ प्रजातिका उभयचर, ८८ प्रजातिका माछा, १११ प्रजातिका पुतली, ४६१ प्रजातिका चरा र ५६ प्रजातिका स्तनधारी पाइन्छन् । विशेषगरी बाह्रसिङ्गा, पाटेबाघ, एकसिङ्गे गैंडा, हात्ती, कृष्णसार, सालक, चितुवा लगायतका वन्यजन्तु यसको पहिचान हुन्। निकुञ्जमा हाल २३२३ वटा बाह्रसिङ्गा रहेको तथ्याङ्क छ।
नेपालका अन्य निकुञ्ज र संरक्षित क्षेत्रजस्तै शुक्लाफाँटा पनि पर्यटन र संरक्षण दुवै दृष्टिले अनुपम सम्पत्ति हो। तर यसको उपयोग र संरक्षणलाई राज्यको प्राथमिकतामा राख्न सकिएन भने यस्ता धरोहर ओझेलमा पर्नु ठूलो विडम्बना हुनेछ।








Discussion about this post