सार्थक ब्यूरो ।नेपाल सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गरेको छ। यसबारे कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले आफ्नो ध्यानाकर्षण गराएको छ।महासंघले सरकारको नियमन गर्ने उद्देश्यलाई सकारात्मक मान्दै पूर्ण प्रतिबन्धले नोक्सान गर्ने चेतावनी दिएको छ। महासंघका अनुसार सामाजिक सञ्जालमा दर्ता नभएकै कारण अपराध, गलत सूचना र व्यक्तिगत सुरक्षासम्बन्धी समस्या बढिरहेको छ, तर एकैपटक सबै प्लेटफर्म बन्द गर्नु व्यावहारिक समाधान होइन।महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले भनिन्, “सामाजिक सञ्जाल दर्ता प्रक्रियामा ल्याउनु राम्रो कुरा हो। यसले प्रयोगकर्ता सुरक्षामा मद्दत गर्छ, साइबर अपराध नियन्त्रण र राजस्व वृद्धिमा सहयोग पुर्याउँछ। तर फेसबुक, एक्स, युट्युब जस्ता प्लेटफर्म अचानक बन्द गर्दा शिक्षा, व्यवसाय, सञ्चार र आम मानिसको दैनिकी प्रभावित हुन्छ।”
उनले नेपाल डिजिटल रूपमा विश्वसँग पछाडि पर्न सक्ने जोखिम पनि औंल्याउँदै सरकारले चरणबद्ध रूपमा कदम चाल्नुपर्ने, सरोकारवालासँग छलफल गरेर व्यावहारिक समाधान ल्याउनुपर्नेमा जोड दिइन्।
महासंघका अनुसार करिब ७० प्रतिशत साना तथा मझौला व्यवसाय सामाजिक सञ्जालमै निर्भर छन्। त्यस्तै, धेरै युवाले सामाजिक सञ्जालमार्फत आय आर्जन गर्दै आएका छन्। प्रतिबन्धले रोजगारी गुम्ने, व्यवसाय धराशायी हुने र वैदेशिक रोजगारीमा रहेका नेपालीले परिवारसँग सम्पर्क गर्न समस्या हुने खतरा छ।
महासचिव चन्द्रविलास भुर्तेलले सामाजिक सञ्जाल बन्द भएमा भीपीएन र ओपन डीएनएसको प्रयोग बढ्ने र यसले साइबर सुरक्षामा थप खतरा ल्याउने बताए।
महासंघले अन्तर्राष्ट्रिय अभ्यासको उदाहरण दिँदै नेपालले पनि युरोपेली युनियनको डिजिटल सर्भिस एक्ट वा भारतको इन्टरमिडियरी गाइडलाइन जस्तै कानुनी संरचना बनाउनुपर्ने सुझाव दिएको छ।
अन्त्यमा, क्यान महासंघले भन्यो—सामाजिक सञ्जाललाई बन्द होइन, सन्तुलित नियमनमार्फत व्यवस्थित र सुरक्षित बनाउनुपर्छ। यसका लागि प्राविधिक अध्ययन, अन्तर्राष्ट्रिय अभ्यास र सरोकारवालासँग संवाद गर्न आफू सहयोग गर्न तयार रहेको छ।








Discussion about this post