सार्थक ब्यूरो ।भदौ २४ गतेको जेन जी आन्दोलनको क्रममा कञ्चनपुरस्थित एमाले पार्टी कार्यालयमा गरिएको तोडफोड र आगजनीपछि भवन अहिले खण्डहर बनेको छ। आन्दोलनपछि केही दिनअघि मात्र नेता–कार्यकर्ताहरूले कार्यालयमा सरसफाइ सुरु गरेका छन्, तर प्रवेशद्वार अझै उभिन सकेको छैन। कार्यालयका सबै कक्षका ढोका जलेका छन् भने भित्ताहरू कालो धुवाँले ढाकिएका छन्।
प्रत्यक्षदर्शीका अनुसार आन्दोलनकारीहरू दुईपटक पुगेर तोडफोड र आगजनी गरेका थिए। पहिलो पटक तोडफोड गरेपछि फर्किएका उनीहरू केही समयमै फर्किएर फेरि आगो लगाएका थिए। त्यस क्रममा अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूलाई लक्षित गर्दै अश्लील गालीगलौज समेत गरिएको बताइन्छ।
भुइँतलादेखि दोस्रो तलासम्म सबै कोठामा रहेका टेबल, कुर्सी, दराज र कागजातहरू बाहिर फालेर आगो लगाइएको थियो। आगो नियन्त्रणमा आउँदासम्म नेता–कार्यकर्ताहरूको सहयोगमा बनेको कार्यालय भवन व्यापक रूपमा क्षतिग्रस्त भएको थियो।
सबैभन्दा अनौठो घटना भने पार्टी कार्यालयको सिँढी नजिक राखिएको नवौँ जिल्ला अधिवेशनको होर्डिङ बोर्डमा देखिएको छ। त्यस बोर्डमा स्व. महासचिव मदन भण्डारी र स्व. पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीसँगै अध्यक्ष ओलीको तस्बिर पनि थियो, तर अहिले त्यही बोर्डबाट ओलीको मात्र तस्बिर हटाइएको छ। बाँकी दुई नेताहरूका तस्बिर यथावत छन् भने ओलीको तस्बिर भएको भाग खाली देखिन्छ।
स्थानीय कार्यकर्ताहरूको भनाइमा आन्दोलनकारीहरूले ओलीको तस्बिर झिकेर अन्य सामानसँगै जलाएको हुनसक्छ। हालसम्म त्यो तस्बिर फेला परेको छैन। उनीहरूका अनुसार पार्टीभित्रै ओलीप्रति असन्तुष्ट रहेका केही कार्यकर्ताले आन्दोलनको भीड प्रयोग गरी तस्बिर हटाएको हुनसक्ने आशंका गरिएको छ।
२०७७ पुसमा संसद् विघटन र त्यसपछि नेकपा विभाजनसँगै अध्यक्ष ओलीप्रति असन्तुष्टि देखिएको थियो। त्यसयता कञ्चनपुरमा पनि नेताहरूबीच विभाजन देखिँदै आएको छ।
कञ्चनपुरको यो पार्टी कार्यालय २०४९ सालदेखि प्रयोगमा रहेको हो। यहींबाट एमालेले विभिन्न स्थानीय, संसदीय र आम निर्वाचन लड्दै जित हासिल गरेको इतिहास छ। हाल कञ्चनपुरमा एमालेका पाँच हजारभन्दा बढी संगठित सदस्य रहेको अनुमान छ।
जेन जी आन्दोलनका क्रममा एमाले कार्यालय मात्र नभई विभिन्न नेताहरूका निजी घरहरूमा पनि आक्रमण भएको छ। इन्चार्ज एवम् पोलिटब्युरो सदस्य निरुदेवी पालका बाँसखेडा र बजारस्थित दुबै घर, पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलको ऐंठपुरस्थित घर, र भीमदत्त नगरपालिकाका पूर्वमेयर सुरेन्द्र विष्टको घरमा समेत आगजनी र तोडफोड भएको छ। ती सबै घरहरूमा व्यापक क्षति पुगेको छ।
पार्टी प्रचार विभाग प्रमुख जनकराज अवस्थीका अनुसार प्रहरीले घटनास्थलको मुचुल्का गरिसकेको छ भने पार्टीले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको छ। उनले भने, “सामानहरूको क्षतिको मूल्याङ्कन अझै पूरा भएको छैन, त्यसपछि मात्र कति रकम बराबरको नोक्सानी भएको हो भन्ने यकिन हुन्छ।”


















Discussion about this post