सार्थक ब्यूरो ।कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निवासी जगदिश प्रसाद पाण्डेय हाल आफ्नै गाउँमा भैँसीपालन गरेर मासिक झन्डै एक लाख रुपैयाँ कमाइ रहेका छन्। केही वर्षअघिसम्म उनी दुबईमा रोजगारीमा थिए । बुबाको निधनपछि २०७६ सालमा स्वदेश फर्किएका उनले पुनः दुबई जान तयारी गरे पनि कोभिड–१९ महामारीका कारण उडान रोकिँदा योजना स्थगित भएको थियो।
रोजगारी नपाएपछि पाण्डेयले गाउँमै आयआर्जन गर्ने उपाय खोज्दै ३० हजार रुपैयाँमा एउटा गाई किनेर दूध व्यवसाय सुरु गरे । सुरुको छ महिनामै लगानी उठेपछि उनले अर्को गाई थपे । गाईको दूधभन्दा भैँसीको दूधको माग बढी देखिएपछि उनी व्यावसायिक रूपमा भैँसीपालनतर्फ मोडिए ।
हाल उनीसँग सानाठूला गरी ३२ वटा भैँसी छन् । तीमध्ये पाँचवटाले दिनमा दुईपटक र सातवटाले बिहान एकपटक दूध दिँदा दैनिक ४० लिटर दूध उत्पादन हुने गरेको छ। दूध गाउँमै प्रतिलिटर ९० रुपैयाँमा बिक्री हुँदै आएको उनले बताए। यस व्यवसायमार्फत तीन जनालाई स्थायी रोजगारी पनि दिएका छन्।
पाण्डेयलाई उनकी श्रीमती सरस्वती पाण्डेयले पनि सक्रिय साथ दिँदै आएकी छन्। दूध बिक्रीबाट वार्षिक झन्डै १२ लाख रुपैयाँ र गोबर मल तथा पाडापाडी बिक्रीबाट थप तीन लाख आम्दानी हुने गरेको पाण्डेय दम्पतीको भनाइ छ। अहिले उनीहरूले आफ्नै एक बिघा जग्गामा भैँसी फार्म सञ्चालन गरिरहेका छन् भने पाँच बिघा जमिन वार्षिक ३० हजार भाडा दरमा लिएर घाँस उत्पादन गरिरहेका छन्।
उनका अनुसार हालसम्म फार्ममा करिब ६५ लाख रुपैयाँ लगानी भइसकेको छ। उनले भने, “विदेशमा भन्दा स्वदेशमै व्यवसाय गरेर कमाउँदा सन्तुष्टि मिल्छ । मेहनत गरे घाटा हुँदैन, तर सरकारको पर्याप्त सहयोग नहुँदा किसानलाई कठिनाइ भइरहेको छ।”
पाण्डेयका छोरा सिभिल इन्जिनियरिङ र छोरी एमबिबिएस अध्ययनरत छन्। उनी भन्छन्, “दूध बिक्रीबाटै छोराछोरीको पढाइ खर्च र घर खर्च चलेको छ । माग भए घरमै दूध पुर्याउने गर्छौं।”


















Discussion about this post