सार्थक ब्यूरो ।निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ गते भएको जेन–जी प्रदर्शनको क्रममा प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली चलाइएको गम्भीर आरोप लगाएका छन्। उनले यसको न्यायिक छानबिन हुनुपर्ने माग पनि गरेका छन्।
ओलीले संविधान दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत् शुभकामना दिनुअघि उक्त कुरा उल्लेख गर्दै भनेका छन् कि, “सरकारले प्रदर्शनकारीहरूलाई लक्षित गरेर गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारबाट गोली हानिएको घटनाको छानबिन हुनुपर्छ।”
भदौ २३ र २४ गतेको प्रदर्शनमा मृत्यु हुनेको संख्या हालसम्म ७४ पुगेको छ। प्रहरी अधिकारीहरूले भनेका छन् कि ओलीले व्यक्त गरेको ‘अरूले घुसपैठ गरेर गोली चलाएको’ आशंका अहिलेसम्म पुष्टि भएको छैन, तर अनुसन्धानबाट सत्य–असत्य पत्ता लाग्ने विश्वास गरिएको छ।
नयाँ सरकारले भदौ २३ र २४ को घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्ने निर्णय गरिसकेको छ। नेपाल प्रहरीले घटनास्थल, घाइते र मृतकको शरीरबाट संकलित गोली, खोका आदि फरेन्सिक परीक्षण गर्नेछ। यसबाट कुन हतियारबाट कुन प्रकारको गोली प्रहार भयो भन्ने यकिन हुनेछ।
संसद भवनको सुरक्षाका लागि दुई खाले प्रहरी टोली खटिन्छन्—बाहिर जिल्ला प्रहरी परिसर काठमाडौंको टोली र भित्र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल। भदौ २३ गते संसद भवनभित्र करिब सय प्रहरी तैनाथ थिए।
प्रहरीका अनुसार त्यो दिन लाठीचार्ज, अश्रु ग्यास, पानीको फोहरा, हवाइ फायर, रबर बुलेट र आवश्यक परे धातुको गोली मात्रै प्रयोग भएको थियो। प्रहरीसँग दुई प्रकारका सेमी–अटोमेटिक राइफल (एसएलआर र इनसास) मात्र रहेको थियो।
पूर्वप्रधानमन्त्री ओलीले भनेका छन् कि भदौ २३ गते गोली चलाउन उनले आदेश दिएको थिएन र प्रदर्शनमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाएको हो। भदौ २४ देखि उनी सैनिक सुरक्षा अन्तर्गत थिए।
यस घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए र ओलीले बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर सुरक्षा व्यवस्था सम्बन्धी असन्तुष्टि व्यक्त गरेका थिए।








Discussion about this post