सार्थक ब्यूरो । दिल्लीस्थित नेपाली दूतावासले उच्च पदस्थ व्यक्तिहरूका लागि उपलब्ध गराउँदै आएको आवासीय सुविधा अस्थायी रूपमा रोक लगाएको छ। यस कारण स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका पूर्वराष्ट्रपति डा. रामवरण यादव र पूर्वप्रधानमन्त्री झलनाथ खनालले समेत दूतावासमा बस्न पाएनन्।
डा. यादव हाल छतरपुरस्थित जैन मन्दिर धर्मशालामा बस्दै अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा स्वास्थ्य परीक्षण गराइरहेका छन्। एक महिनाअघि नै आफू दिल्ली आउनेबारे राजदूत डा. शंकर शर्मालाई जानकारी गराए पनि गत साता दिल्ली पुगेपछि उनलाई आवास सुविधा उपलब्ध नहुने भनिएको थियो।
त्यसैगरी, जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आगलागी हुँदा गम्भीर घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारलाई उपचारका लागि दिल्ली लगेका खनाल पनि दूतावास बाहिरै बसिरहेका छन्। चित्रकारलाई फोक्सोमा निमोनिया संक्रमण बढेपछि अपोलो अस्पतालमा भर्ना गरिएको छ।
परराष्ट्र मन्त्रालयका स्रोतहरूका अनुसार, जेनजी आन्दोलनपछिको सुरक्षा संवेदनशीलता बढेपछि विदेशस्थित कूटनीतिक नियोगहरूले गैर–आधिकारिक आवास तथा आतिथ्य सेवामा प्रतिबन्ध लगाएका हुन्। “कूटनीतिक कर्मचारी नै कडा सुरक्षा घेरामा रहेका बेला दीर्घकालीन आवासीय सुविधा दिन सम्भव छैन,” दूतावासका एक अधिकारीले बताएका छन्।
दिल्लीस्थित दूतावासमा विगतमा उच्चपदस्थ नेता, मन्त्री तथा सत्तासमीपका व्यक्तिहरू स्वास्थ्य उपचारका नाममा आवासीय सुविधा लिने गरेको भन्दै आलोचना हुँदै आएको थियो। हालको राजनीतिक फेरबदलपछि सेवा–सुविधाबाट वञ्चित हुने पहिलो व्यक्तिहरूमा पूर्वराष्ट्रपति यादव र पूर्वप्रधानमन्त्री खनाल परेका छन्।








Discussion about this post