सार्थक ब्यूरो। धार्मिक तथा पर्यटकीय क्षेत्रमा परेका मुडका–९ मणिका र धारापानी क्षेत्रमा पाँच दशकपछि विद्युत् सेवा सुरु हुन लागेको छ। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले ठेक्का प्रक्रियामार्फत विद्युतीकरणको काम धमाधम अगाडि बढाइरहेको छ।
वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार, पोल गाड्ने, तार तान्ने, ट्रान्सफर्मर जडान र मजदुर ज्यालासहितको ठेक्का वितरण केन्द्रले नै प्रदान गरेको छ। आवश्यक सामग्री खरिद गर्ने जिम्मेवारी प्राधिकरणको केन्द्रीय कार्यालयले लिएको छ। करिब ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
विद्युतीकरणको काम कलौनी निर्माण सेवासँगको सम्झौताअनुसार भइरहेको छ। यस अन्तर्गत पोल जडान, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राखेर विद्युत् सञ्चालनमा ल्याउने कार्य हुने छ। धामिक क्षेत्र मुडका–धारापानीको करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी तिहारअघि विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ।
विद्युतीकरण सुरु भएपछि स्थानीय बासिन्दा र भक्तजनमा खुशी देखिएको छ। वडा नं. ९ का अध्यक्ष रमेशबहादुर ऐरले भने, “धार्मिक क्षेत्रमा विद्युत् अभावले भक्तजनले कठिनाइ खेप्दै आएका थिए, अब त्यो समस्या अन्त्य हुने चरणमा छ।”
यसअघि विसं २०२८ सालदेखि बस्ती बस्दा पनि विद्युत् सेवा पुगेको थिएन। करिब ३५ परिवारको बसोबास रहेको धारापानीमा बासिन्दाहरू लामो समय टुकीको उज्यालोमा रात काट्दै आएका थिए। स्थानीय सायमले धामीले भने, “अब टुकीको उज्यालोमा बिताउने रात अन्त्य हुँदैछ। मोबाइल चार्ज गर्न समेत तीन किलोमिटर टाढा जानुपर्थ्यो, अहिले पोल गाड्न थालिएकाले विद्युत् पुग्नेमा आशावादी भएका छौँ।”
साथै, वितरण केन्द्रले भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा करिब ५५ घरधुरीलाई विद्युतीकरण सेवा विस्तार गरेको छ। त्यहाँ अढाई किलोमिटर क्षेत्रमा पोल, तार र दुईवटा ट्रान्सफर्मर जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ।
श्रीवास्तवका अनुसार, पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी क्षेत्रमा समेत विद्युत् बिस्तारको काम पूरा भइसकेको छ।


















Discussion about this post