भेनेजुएलामा ६.३ म्याग्निच्युडको भूकम्प, राजधानी काराकससम्म महसुस

सार्थक ब्यूरो ।कराकस- उत्तरपश्चिम भेनेजुएलामा बुधबार राति ६.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (यूएसजिएस) ले जानकारी दिएको छ। भूकम्पको केन्द्रविन्दु जुलिया राज्यको तेलसहर मेने ग्रान्डेदेखि करिब १४ किलोमिटर टाढा र २७ किलोमिटर गहिराइमा रहेको बताइएको छ।
भूकम्पको धक्का राजधानी काराकससम्म पुगेको थियो, जुन केन्द्रविन्दुबाट करिब ६०० किलोमिटर टाढा पर्छ। एएफपीका पत्रकारका अनुसार केही भवन हल्लिएपछि स्थानीय बासिन्दा राति नै घरबाहिर निस्कन बाध्य भएका थिए।
यूएसजिएसले यो भूकम्पपछि सुनामीको खतरा नरहेको प्रष्ट पार्दै “विशेष कार्य आवश्यक छैन” भन्ने चेतावनी जारी गरेको छ।
यसअघि सोही क्षेत्रमा केही घण्टाअघि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो, जसको कम्पन छिमेकी कोलम्बिया तथा क्यारिबियनका अरुबा, कुराकाओ र बोनेयर टापुहरूमा समेत महसुस गरिएको थियो। तर तत्काल ठूलो क्षतिको विवरण भने आएको छैन।
गृहमन्त्री डायोस्डाडो क्याबेल्लोले राज्य टेलिभिजनमार्फत वक्तव्य दिँदै भूकम्पबाट “उल्लेख्य क्षति नभएको” जनाएका छन्। तर असामान्य रूपमा शक्तिशाली कम्पन अनुभव भएपछि राजधानी काराकस र माराकाइबो लगायतका सहरमा सतर्कता बढाइएको छ।
भेनेजुएलामा शक्तिशाली भूकम्प प्रायः दुर्लभ मानिन्छ। सन् १९९७ मा सुक्रे राज्यको क्यारियाकोमा आएको भूकम्पमा ७३ जनाको मृत्यु भएको थियो। त्यसभन्दा अघि १९७६ मा काराकसमा गएको शक्तिशाली भूकम्पमा करिब ३०० जनाको ज्यान गएको र २,००० जना घाइते भएका थिए। विशेषज्ञहरूका अनुसार अहिले पनि करिब ८० प्रतिशत भेनेजुएलाली भूकम्पीय जोखिमयुक्त क्षेत्रमा बस्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित