सार्थक ब्यूरो । सुदूरपश्चिममा रेबिज रोगको सङ्क्रमण बढ्दै गएको तथ्याङ्कले देखाएको छ। पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ मा परीक्षण गरिएका १७० नमूनामध्ये १३६ मा रेबिज पोजेटिभ भेटिएको छ।
सबैभन्दा बढी सङ्क्रमण कैलालीमा देखिएको छ, जहाँ ९८ नमूनामध्ये ७८ पोजेटिभ पाइएका छन्। कञ्चनपुरमा ५३ मध्ये ४३, अछाममा ७ मध्ये ५, डोटीमा ८ मध्ये ६, बझाङमा ३ र अन्य जिल्लामा पनि सङ्क्रमण पुष्टि भएको छ।
परीक्षणअनुसार कुकुर प्रमुख वाहक देखिएका छन्। ८७ कुकुर नमूनामध्ये ७२ मा रोग पोजेटिभ पाइयो। त्यस्तै, गाई–गोरु, भैँसी, बाख्रा, बङ्गुर, घोडा र खरायोमा पनि रेबिज देखिएको छ।
प्रयोगशालाले २०७६/७७ बाट रेबिज निगरानी सुरु गरेको थियो। सुरुमा २ नमूनामात्र पोजेटिभ पाइए पनि पछिल्ला वर्षमा सङ्क्रमण तीव्र गतिमा बढेको छ। चिकित्सक जोशीका अनुसार रेबिज कुकुर, स्याल, ब्वाँसो जस्ता जनावरबाट मानिसमा सर्ने रोग हो, जसको लक्षण देखिएपछि उपचार सम्भव छैन।
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष विश्वमा करिब ५९ हजार मानिसको मृत्यु रेबिजका कारण हुन्छ, जसको ९५ प्रतिशत अफ्रिकी र एसियाली मुलुकमा हुने गरेको छ। नेपालमा मात्र वार्षिक करिब एक लाख बढी मानिसलाई जनावरले टोकेको तथ्याङ्क छ भने १५ देखि ३६ जनाले ज्यान गुमाउने गरेको देखिन्छ।
चिकित्सकहरूका अनुसार सङ्क्रमित जनावरले टोकेपछि साबुनपानीले घाउ सफा गरी तत्काल ‘एन्टी–रेबिज भ्याक्सिन’ लगाउनुपर्छ। रोगको लक्षणमा पानी पिउन कठिनाइ, पानीसँग डर, स्मरणशक्ति हराउने, ज्वरो आउनु लगायत समस्या देखिन्छ।
नेपालमा अझै रेबिज नियन्त्रण ठूलो चुनौतीको रूपमा देखिएको भए पनि सामुदायिक कुकुरलाई नियमित खोप लगाउने अभियान प्रभावकारी हुने विशेषज्ञहरूको भनाइ छ। यसै क्रममा विश्व रेबिज दिवस २०२५ को अवसरमा धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले सामुदायिक कुकुरमा खोप अभियान सञ्चालन गरेको छ।








Discussion about this post