सार्थक ब्यूरो ।दसैँ, तिहार र छठ पर्वलाई ध्यानमा राख्दै ट्राफिक प्रहरीले सुदूरपश्चिम प्रदेशभर ३९ स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाका सूचना अधिकारी डिएसपी टेकबहादुर जोराका अनुसार यात्रु सहायता कक्षमार्फत आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन, दुर्घटनाको जोखिम घटाउन तथा यात्रुलाई अनावश्यक दुःख–हैरानीबाट जोगाउन पहल गरिएको हो।
सहायता कक्षले तोकेको भन्दा बढी भाडा असुलिएको छ कि छैन, टिकटअनुसारको सिट दिइएको छ कि छैन, आरक्षित सिट लक्षित वर्गका यात्रुलाई उपलब्ध भएको छ कि छैन भन्ने विषयमा अनुगमन गर्नेछ। साथै, लामो दूरीका बसमा दुई चालकको व्यवस्था, चालक–सहचालकको व्यवहार, मापसे चेकजाँच जस्ता कुरामा समेत निगरानी गरिने जनाइएको छ।
यसबाहेक स्थानीय प्रहरीसँग समन्वय गरी संयुक्त चेकजाँच कडाइ गर्ने, ट्राफिक सचेतनामूलक सामग्री वितरण गर्ने, सम्भावित जोखिमबारे जनतालाई सचेत पार्ने कार्यलाई समेत प्राथमिकता दिइनेछ।
डिएसपी जोराले पहाडी रुटमा टाइम कार्ड प्रणालीलाई कडाइका साथ लागू गर्ने, सवारीसाधनको प्राविधिक अवस्था जाँच्ने र भीडभाड हुने मेलापर्वका स्थानमा ट्राफिक व्यवस्थापन गर्ने तयारी भएको बताए। उनले थपे, “सुदूरपश्चिममा दुर्घटनामुक्त दसैँ, तिहार र छठ पर्व हुने अपेक्षा गरेका छौँ।”








Discussion about this post