सार्थक ब्यूरो । बडादशैंको पाँचौं दिन आज देवी स्कन्दमाताको पूजाआराधना गरी मनाइँदैछ । यसअघि चतुर्थी विहीबार र शुक्रबार परेकाले पञ्चमीको पूजा शनिबार सम्पन्न हुँदैछ ।
नवरात्रका नवदुर्गामध्ये पाँचौं स्वरूपका रूपमा पूजिने स्कन्दमाता भगवान् कार्तिकेयकी आमा हुन् । स्कन्द अर्थात् कार्तिकेय ज्ञान र कर्मशक्तिका प्रतीक मानिन्छन् । त्यसैले देवीलाई पनि क्रियात्मक ज्ञान र कर्ममार्गमा प्रेरणा दिने शक्ति स्वरूपको रूपमा वर्णन गरिएको छ । धार्मिक विश्वासअनुसार शिवको तेजोबीजबाट कार्तिकेयको जन्म भएकाले पार्वतीको यो स्वरूपलाई स्कन्दमाता भनिन्छ ।
हिन्दु धर्मशास्त्रमा स्कन्दमाता शुभ, शान्त र आनन्दमयी देवीका रूपमा चित्रण गरिन्छ । पीतवर्णकी यी देवी कमलको आसनमा विराजमान हुन्छिन् र भक्तजनलाई सन्तान सुख र धर्तीमा उर्वरता प्रदान गर्ने शक्तिकी रूपमा पूजा गरिन्छ ।
पूजाविधि र अनुष्ठान
आजका दिन भक्तजनले गंगाजल वा गोमूत्रद्वारा पूजास्थल शुद्धीकरण गरी कलश स्थापना गर्ने परम्परा छ । त्यसपछि श्रीगणेश, नवग्रह, षोडश मातृका, सप्तघृत मातृका लगायत देवताको आवाहन गरी स्कन्दमाताको षोडशोपचार पूजाआराधना गरिन्छ । चन्दन, पुष्प, दुबो, धूप–दीप, फलफूल, नैवेद्य अर्पण गरी आरती, मन्त्रपुष्पाञ्जलि पश्चात् प्रसाद वितरण गर्ने प्रचलन छ ।
नवरात्रका नौ दिनमा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा गर्ने प्रथा रहिआएको छ । दुर्गाका यी नौ रूपलाई नवदुर्गा भनेर सम्मान गरिन्छ ।
दशैंका अन्य तिथिहरू
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष फूलपाती असोज १३ गते बिहान ७ः१७ मा, महाअष्टमी असोज १४ गते, महानवमी असोज १५ गते बिहान ९ः२३ मा र टीकाको साइत असोज १६ गते बिहान ९ः२३ मा परेको छ ।


















Discussion about this post