दुई महिनामै बाकसमा फर्किए १४२ सपना

सार्थक ब्यूरो।घरका लागि नयाँ छानो हाल्ने, साहुको ऋण तिर्ने, छोराछोरीलाई राम्रो पढाउने सपना बोकेर हवाईजहाज चढेका सयौं नेपालीमध्ये १४२ जना भने फर्किंदा बाकसमा कैद भएर आएका छन्।
वैदेशिक रोजगारीमा निस्कँदा उनीहरूको मनमा भविष्यको आशा थियो, तर दुई महिनाभित्रै ती आशा परिवारका लागि पीडादायी सम्झना बनेका छन्। वैदेशिक रोजगार बोर्डका तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै १४२ जना नेपाली श्रमिकको मृत्यु भएको छ। साउनमा ४३ र भदौमा ९९ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको थियो।
उनीहरू घर फर्किए—तर मुस्कानसहित होइन, काठको बाकसमा बाँधिएको निर्जीव शरीरका रूपमा। परिवारले एयरपोर्टमै आफ्ना प्रियजनलाई ओझेलिएको आँखाले देख्नुपरेको छ। सपना साँचेर विदेश गएका उनीहरूको यात्राको अन्तिम गन्तव्य विमानस्थलको शव कक्ष बन्न पुग्छ भन्ने कुरा कसैले कल्पना गरेको हुँदैन।
बोर्डको खर्चमा मात्र ८३ जनाको शव नेपाल ल्याइएको छ भने बाँकी शव कम्पनी र अन्य निकायको सहयोगमा ल्याइएका हुन्। शव नेपाल आइपुगेपछि बोर्डले निःशुल्क घरसम्म पुर्‍याउने व्यवस्था गरेको छ। गत वर्ष एक हजारभन्दा बढी नेपाली बाकसमा फर्किएका तथ्यांक अझै डर लाग्दो छ।
श्रमिक परिवारलाई सान्त्वना दिने प्रयास स्वरूप बोर्डले मृत्यु भएका कामदारका परिवारलाई १० लाख रुपैयाँसम्मको आर्थिक सहयोग दिने व्यवस्था गरेको छ। अंगभंग वा गम्भीर रोगबाट पीडित श्रमिकलाई उपचार खर्च उपलब्ध गराउने, मृतक वा अशक्त भएका कामदारका सन्तानलाई छात्रवृत्ति दिने जस्ता कार्यक्रम पनि छन्। तर, पैसा वा सहयोगले परिवारको टुटेको मन, हराएको सपना र अधुरो रहर कहिल्यै पुरा गर्न सक्दैन।
आज पनि औसत २५ सय नेपाली दैनिक विदेशिन्छन्। तर प्रश्न यथावत छ – कति युवाको सपना अझै बाकसमा कैद भएर फर्किनेछ ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित