सार्थक डेस्क।गत भदौ २४ गते सुदूरपश्चिममा भएको जेनजी आन्दोलनले लोकतान्त्रिक अधिकार प्रयोगको सीमारेखा मात्र मिचेन, राज्य संरचना र जनताको सम्पत्तिमाथि असह्य प्रहार गर्यो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयदेखि प्रदेशसभा भवनसम्म आगजनी र तोडफोड हुँदा करिब १० करोड रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क सार्वजनिक भएको छ। सरकारी सवारीसाधनदेखि कम्प्युटर, कागजात, कार्यालयका सम्पूर्ण सामग्री जलाइदिएर आन्दोलनकर्ताले आफ्नो मागलाई न्यायोचित बनाउनुको साटो बदनाम गराएका छन्।
आन्दोलन गर्नु, सडकमा आवाज बुलन्द गर्नु, असन्तोष प्रकट गर्नु – लोकतन्त्रले दिएको अधिकार हो। तर, आन्दोलनलाई हिंसा र विध्वंसको बाटोमा धकेल्नु भनेको न त जनताका लागि हितकर हुन्छ, न त आन्दोलनकै उद्देश्यलाई बल दिन्छ। जनताको करबाट उठेको सम्पत्ति जलाउनु भनेको पुनः जनतालाई नै दुःख दिने काम हो। आन्दोलनको नाममा यस्तो अराजक अभ्यासलाई कसैले समर्थन गर्न सक्दैन।
अब प्रश्न उठ्छ – क्षतिको जिम्मेवारी कसले लिन्छ ? कार्यालय जलेर नष्ट भए, प्रदेशसभा भवन खण्डहर बने, महत्वपूर्ण कागजातहरू खरानी भए। यतिमात्र होइन, आन्दोलनकै भीडमा चोरीका घटना समेत भएका छन्। यस्ता क्षतिका दोषीहरू पहिचान गरी कानूनी कारबाहीमा नल्याइन्जेल यो प्रवृत्ति पुनः दोहोरिन सक्छ। राज्य कमजोर देखियो भने भोलिका आन्दोलनकर्ताले पनि यही बाटो रोज्ने खतरा छ।
सत्य यो हो कि सुदूरपश्चिम मात्र होइन, मुलुककै विभिन्न क्षेत्रमा भ्रष्टाचार, अनियमितता र प्रशासनिक ढिलासुस्तीले असन्तोष बढाएको छ। तर भ्रष्टाचारविरुद्धको लडाइँ सडकमा सरकारी भवन जलाएर जितिँदैन। प्रणाली सुधार, उत्तरदायित्व र जवाफदेही शासनको माग गर्नुपर्ने हो। विध्वंसको बाटोले सुधारको बाटो खुल्दैन, बरु अझ अध्यारो मात्र बढाउँछ।
यस घटनाले दुई सन्देश दिएको छ– पहिलो, आन्दोलनले जब कानुनी मर्यादा नाघ्छ, त्यसले आफ्नै उद्देश्यलाई कमजोर पार्छ। दोस्रो, राज्यले यस्ता घटनापछि पनि कमजोर प्रतिक्रिया देखायो भने यसको पुनरावृत्ति रोकिन्न। त्यसैले, सुदूरपश्चिममा भएको विध्वंसको निष्पक्ष छानबिन, दोषी पहिचान र कानूनी कारबाही अपरिहार्य छ।
भोलि इतिहासले लेख्नेछ– असन्तोष प्रकट गर्न सडक छानेकाहरू सही थिए कि आफ्नै घर जलाउनेहरू ? उत्तर स्पष्ट छ। जनताले चाहेको परिवर्तन विध्वंसमा होइन, पारदर्शिता र उत्तरदायित्वमा छ। अब आन्दोलनकारी र राज्य दुबैले यो पाठ आत्मसात् गर्नुपर्ने हुन्छ।


















Discussion about this post