मुख्यमन्त्री कार्यालयमा आगजनी र तोडफोडबाट करोडौँको क्षति

सार्थक ब्यूरो। भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आगजनी र तोडफोड हुँदा करिब साढे नौ करोड रुपैयाँ बराबरको क्षति भएको पाइएको छ।
मुख्यमन्त्री कार्यालयका प्रवक्ता एवं उपसचिव नवराज ओझाका अनुसार आगजनीबाट मात्र आठ करोड ४१ लाख ८६ हजार रुपैयाँ र तोडफोडबाट ७६ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण प्राप्त भएको हो। साथै, लुटपाट वा हराएका सामग्रीको मूल्य करिब ५५ लाख ८४ हजार रुपैयाँ अनुमान गरिएको छ।
कार्यालयमा रहेका सात वटा जिप र १३ वटा मोटरसाइकल जलेर पूर्णरूपमा नष्ट भएका छन्। साथै, कार्यालयका तीनवटै भवनमा आगजनी हुँदा झ्याल, ढोका, कार्पेट, फल्सिलिङ, पार्केटिङ र अन्य सामग्री जलेका छन्। प्रहरी पोस्ट र प्रहरी क्वाटरसमेत जलेर क्षति पुगेको जनाइएको छ।
प्रवक्ता ओझाका अनुसार आगलागीका कारण कार्यालयका महत्त्वपूर्ण सरकारी कागजात, सम्पत्ति विवरण, कार्यसम्पादन फाराम र जिन्सी शाखामा रहेका मसलन्दका सामान जलेर नष्ट भएका छन्। प्रमुख सचिवको निवासमा पनि तोडफोड र क्षति भएको बताइएको छ।
आर्थिक वर्ष २०८१/८२ का लागि निरीक्षणमा राखिएका लिलाम, मर्मत र मिनाहा सूचीका अधिकांश सामग्री समेत जलेका छन्। आगजनीपछि कार्यालय परिसरमा क्षतिग्रस्त संरचना र जलेका फाइलहरूको अवशेष अहिले पनि देख्न सकिन्छ।
स्थानीय प्रशासनले क्षतिको विस्तृत विवरण संकलन गरिरहेको र आवश्यक कानूनी कारबाही अघि बढाउने तयारी भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित