सार्थक ब्यूरो। पाँच दिनसम्म मनाइने तिहार पर्व अर्थात् यमपञ्चक आजदेखि सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष कात्तिक कृष्ण त्रयोदशी आज दिउँसो एक बजेर २३ मिनेटपछि लाग्ने भएकाले आजैदेखि तिहारको औपचारिक सुरुवात भएको हो।
आजै धनतेरस वा धनत्रयोदशी पर्व पनि मनाइँदैछ। समितिका सदस्य तथा धर्मशास्त्रविद् प्राध्यापक डा. देवमणि भट्टराईका अनुसार आज दिउँसोपछि त्रयोदशी तिथि लागेकाले यही दिन यमदीपदान पनि सुरु हुन्छ।
भोलि आइतबार काग तिहार र धनवन्तरी जयन्ती एकैसाथ मनाइनेछ। तिथिको मिलानका कारण पर्सि सोमबार कुकुर तिहार र लक्ष्मीपूजा पनि एउटै दिन पर्ने भएको समितिले जनाएको छ। कात्तिक ३ गते दिउँसो दुई बजेर ५२ मिनेटसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा यही दिन मनाइनेछ।
यसैबीच, तिहारको चौथो दिन अर्थात् कात्तिक ५ गते गाई, गोरु र गोवर्धन पूजा तथा आत्मपूजा मनाइनेछ। यस दिन नयाँ वर्षको रूपमा नेपाल संवत् पनि सुरु हुन्छ।
पर्वको अन्तिम दिन कात्तिक ६ गते बिहीबार भाइटीका मनाइनेछ। भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा रहेको समितिले जानकारी दिएको छ। सोही दिन नेवारी समुदायले किजा पूजा पनि गर्ने परम्परा रहेको छ।


















Discussion about this post