सार्थक ब्यूरो। तिहार पर्वलाई लक्षित गर्दै धनगढी उपमहानगरपालिका–९ बङ्गरामा उत्पादित सयपत्री फूलको माला पहिलो पटक बेलायत पठाइएको छ। बेलायतमा रहेका नेपाली समुदायले माग गरेपछि स्थानीय किसानहरूले व्यावसायिक रूपमा उत्पादन गरेका फूल बेलायत पठाएका हुन्।
फूल व्यवसायी रोशन साउदका अनुसार यस वर्ष तीन सय थान सयपत्री माला पठाइएको हो। “देशभित्रकै माग धेरै छ, तर यो वर्ष पहिलो पटक बेलायत निर्यात गर्न सफल भएका छौं,” साउदले बताए। उनका अनुसार फूल र माला दुवैका लागि थप अर्डरहरू पनि आइरहेका छन्।
अछामका रोशन साउद, दशरथ साउद र कपिलवस्तुका भास्कर पङ्गेनीले संयुक्त रूपमा चार वर्षदेखि बङ्गरामा २२ कट्ठा जमिन भाडामा लिएर व्यावसायिक फूल खेती गर्दै आएका छन्। तिनै प्राविधिकले धनगढी, दाङ, बाँके र कपिलवस्तुमा समेत मिलाएर करिब नौ बिघा क्षेत्रफलमा फूल र अन्य कृषि बाली उत्पादन गर्दै आएका छन्।
तिहार नजिकिएसँगै बङ्गराका खेत सयपत्री फूलले ढकमक्क भएका छन्। साउदका अनुसार माला गाँस्ने कार्यमा हाल ६० देखि ७० जना स्थानीयलाई अस्थायी रोजगार मिलेको छ।
गत वर्षको तुलनामा यसपटक फूल उत्पादन राम्रो भएकाले किसानहरूलाई राम्रो आम्दानीको अपेक्षा छ। दी डिभाइन एग्रो फार्म नर्सरी एन्ड रिसर्च सेन्टरमार्फत सयपत्री फूल प्रतिकिलो पाँच सय रुपैयाँ र माला एक सयदेखि दुई सय रुपैयाँमा बिक्री भइरहेको साउदले जानकारी दिए।


















Discussion about this post