वासिङ्टन — अमेरिकी लोकतन्त्रमा देखिएको अधिनायकवादी प्रवृत्तिप्रति असन्तोष जनाउँदै शनिबार देशभर लाखौँ मानिस सडकमा उत्रिए। ‘नो किङ्स’ नाम दिइएको यो आन्दोलनले राष्ट्रपति डोनाल्ड ट्रम्पको शासनशैलीमाथि मात्र होइन, स्वतन्त्रता र मानव मर्यादाको संरक्षणका लागि जनताको सामूहिक पीडा र आक्रोशलाई पनि उजागर गर्यो।
न्युयोर्कदेखि लस एन्जलससम्म फैलिएको विरोध प्रदर्शनमा ७० लाखभन्दा बढी नागरिक सहभागी भएको आयोजकहरूले बताएका छन्। तीमध्ये धेरैले हातमा ‘लोकतन्त्रको रक्षा गरौँ’, ‘हामी चुप लाग्दैनौँ’ जस्ता सन्देशयुक्त प्लेकार्ड बोकेका थिए। कतिपय वृद्ध नागरिकले आँसु झार्दै आफ्नो युवा अवस्थाको स्वतन्त्र अमेरिका सम्झँदै “हाम्रो देश फेरि मानवीय बनोस्” भन्ने याचना गरे।
फ्लोरिडास्थित ट्रम्प निवास नजिकदेखि अमेरिकाको हार्टल्यान्डका स–साना सहरसम्म नागरिकहरूको भीड उर्लिएको थियो। राजधानी वासिङ्टनको क्यापिटल अगाडि हजारौँले ‘लोकतन्त्र यस्तो देखिन्छ’ भन्दै नारा लगाउँदै सरकारको लामो सटडाउन र आप्रवासीमाथिको कडा नीति विरुद्ध आवाज उठाए।
६९ वर्षीया कोलिन हफम्यान आँसु पुछ्दै भन्छिन्, “मैले आफ्नो देशमा स्वतन्त्रताको क्षय यति छिटो हुनेछ भन्ने कहिल्यै सोचेकी थिइनँ। हामी अहिले करुणा र विवेकको लडाइँ लड्दैछौँ।”
युवा पुस्ताले पनि लोकतन्त्रको पक्षमा जोडदार आवाज उठाए। १६ वर्षीय विद्यार्थी आइज्याक हार्डर भन्छन्, “हाम्रो भविष्य अन्धकारमा धकेलिँदैछ। हामी अहिले नै उठेनौँ भने भोलि इतिहासले माफी दिने छैन।”
कतिपय सहरमा विशाल बेलुन र रङ्गीन झण्डासँगै प्रदर्शनहरू शान्तिपूर्ण ढंगले सम्पन्न भए, तर लस एन्जलसमा केही भिड नियन्त्रणका क्रममा प्रहरीले अश्रुग्यास प्रयोग गरेको समाचार छ।
प्रदर्शनको प्रतीकात्मक स्वरूपमा लस एन्जलसको आकाशमा डाइपर लगाएको ट्रम्पको बेलुन उडाइएको थियो — यो दृश्यले भीडमा हास्य पनि ल्यायो र आक्रोश पनि। ह्युस्टनमा भने ‘अज्ञानताविरुद्ध लडौँ, मानवीयताको पक्षमा उभिऔँ’ भन्ने नाराले सहभागीहरूलाई एकताबद्ध बनायो।
प्रगतिशील सिनेटर बर्नी स्यान्डर्सले राजधानी वासिङ्टनमा सम्बोधन गर्दै चेतावनी दिए, “हामी एउटा यस्तो मोडमा छौँ जहाँ केही मानिसले सम्पूर्ण शक्ति कब्जा गर्न खोजिरहेका छन्। लोकतन्त्र बचाउन जनता एकजुट हुनुपर्छ।”
अमेरिकन सिभिल लिबर्टिज युनियनकी डेरड्रे सिफेलिङले आन्दोलनको मूल सन्देश प्रष्ट पारिन्— “यो केवल राजनीतिमा असन्तोष होइन, यो सहानुभूति, न्याय र समानताका लागि उठेको मानवीय पुकार हो।”
अमेरिकी सडकहरूमा देखिएको यो जनसागर केवल एक राष्ट्रपतिविरुद्धको विरोध होइन, लोकतन्त्र र मानवताको भविष्यका लागि जनताको चेतनाको पुनर्जागरण थियो।-रासस/एएफपी


















Discussion about this post