सार्थक ब्यूरो। परदेशमा वैदेशिक शिक्षा र मेहनतको सपना बोकेर पुगेका कञ्चनपुरका विपिन जोशी आज आफ्नै मातृभूमिमा फर्किँदैछन्,तर जीवनका साथ होइन, पार्थिव शरीरका रूपमा।
सोमबार दिउँसो २ः३५ बजे फ्लाई दुबईमार्फत उनकाे शव काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ। जोशीप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री सुशीला कार्की स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने तयारीमा छन्। परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार, विमानस्थलमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि नेपाली सेनाको विमानमार्फत शवलाई धनगढी पुर्याइनेछ। त्यसपछि एयर एम्बुलेन्समार्फत पार्थिव शरीर जोशीको जन्मथलो महेन्द्रनगर पुर्याइने तयारी छ।
गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आकस्मिक आक्रमणका क्रममा १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए। त्यही घटनामा विपिन जोशी पनि बेपत्ता भएका मध्येका एक थिए। लामो प्रतीक्षा र पीडाको अन्त्यमा अब परिवार र देशले उनलाई अन्तिम पटक देख्न पाउने भएका छन्।
विदेशी भूमिमा आफ्ना सन्तान गुमाउनुको पीडा शब्दमा उतार्न सकिँदैन। जोशीको फर्काइले केवल एउटा परिवारको शोकलाई होइन, हजारौँ नेपाली अभिभावकको पीडालाई पनि पुनः जीवित बनाएको छ—जो सन्तानहरू परदेशमा सुरक्षित रहून् भन्ने आशामा हरेक दिन प्रतीक्षा गरिरहेका छन्।


















Discussion about this post