सार्थक ब्यूरो। तिहारको मुख्य दिनमध्ये पर्ने आज कार्तिक कृष्ण औँसीका अवसरमा धन–धान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ। ऐश्वर्य, सम्पन्नता र समृद्धिको प्रतीक मानिने लक्ष्मीलाई आमन्त्रण गर्न आज बिहानै घर–आँगन सफा सुग्घर पार्ने, लिपपोत गर्ने र साँझ दीपावली गर्ने परम्परा छ।
नेपाली घर–घरमा आज झ्याल, ढोका, कोठा, सङ्घारदेखि कौसी र अटालीसम्म सरसफाइ गरेर दीप प्रज्ज्वलन गरिँदैछ। लोकविश्वासअनुसार, सफा र उज्यालो घरमा मात्र लक्ष्मीको आगमन हुने भएकाले प्रत्येक परिवारले आफ्नो घरलाई झिलिमिली बनाएका छन्।
साँझ पूजा सुरु हुनुअघि आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातो माटोले लिपपोत गरी, चामलको पीठो र अबिरले लक्ष्मीको पाइलाहरू कोरिन्छन् । दीपावलीका दियोहरू पाइलैपिच्छे बालिन्छन्, जसले लक्ष्मीलाई घरमा प्रवेश गर्ने बाटो देखाउने प्रतीकात्मक अर्थ लिन्छ।
पूजाका क्रममा लक्ष्मीको मूर्ति वा प्रतीक स्थापना गरी दियो, कलश, गणेश, गरगहना, पैसा, धान, चामल, फलफूल र सेलरोटी चढाइन्छ । लक्ष्मीको आराधना सकेपछि छोरी, चेली र साना कन्याहरूलाई लक्ष्मीको रूप मानी पूजा गरी दक्षिणा दिने चलन छ। धार्मिक विश्वासअनुसार, आजको रात घरमा लक्ष्मी बसोबास गर्न आउँछिन्, त्यसैले पूजा पश्चात् कुनै पनि सामान वा धन बाहिर पठाउन नहुने मान्यता रहेको छ।
धर्मशास्त्रविद् डा. देवमणि भट्टराईका अनुसार, आजको रातलाई “सुखरात्री” पनि भनिन्छ । मध्यरातमा घरकी नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस्, लक्ष्मीको आगमन होस्’ भन्ने कामना गर्नु शुभ मानिन्छ ।
साँझपख युवतीहरू समूह बनाई घरघरमा भैलो खेल्ने चलन पनि आजकै दिनसँग जोडिएको छ । भगवान् विष्णुले बलिराजालाई दिएको वरदानको सम्झनामा ‘भलो होस्’ भन्ने कामनाबाट ‘भैलो’ भन्ने शब्द उत्पत्ति भएको जनाइन्छ । भैलो खेल्न आउनेलाई धान, चामल, पैसा, फूलमाला र सेलरोटी दिएर विदा गरिन्छ ।
लक्ष्मीपूजाको अवसरमा सहर बजारदेखि गाउँघरसम्म दीपमालाले उज्यालो बनेको छ । कतिपय ठाउँमा कुल परम्पराअनुसार गाईपूजा पनि आजै सम्पन्न गर्ने चलन छ, यद्यपि शास्त्रीय रूपमा भने गाईपूजा कार्तिक शुक्ल प्रतिपदादेखि गर्नुपर्ने उल्लेख पाइन्छ।


















Discussion about this post