सार्थक ब्यूरो । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक स्थल उग्रतारा भगवती मन्दिर परिसरमा यस वर्षको उग्रतारा मेला यही कात्तिक १९ गतेदेखि सुरु हुने भएको छ। परम्पराअनुसार हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात र त्यसको भोलिपल्ट मेला लाग्ने परम्परा रहँदै आएको छ।
उग्रतारा क्षेत्र विकास समितिका अनुसार यस वर्ष कात्तिक १८ गते राति ‘रतेडी’ मेला र कात्तिक १९ गते बुधबार दिउँसो ‘दिउसेडी’ मेला आयोजना हुनेछ। डडेलधुराको अमरगढी नगरपालिका–८ मा अवस्थित उग्रतारा भगवती मन्दिरमा छचोडा, खनमडा, दुमडा र जिलोडा भण्डार (भ्राण) गरी चार गाउँका भक्तजनले बिहान ‘देउरो’ ल्याएपछि मुख्य मेला औपचारिक रूपमा सुरु हुने जनाइएको छ।
डडेलधुराको सदरमुकामबाट करिब चार किलोमिटर टाढा अवस्थित यस महाशक्तिपीठमा प्रत्येक वर्ष हजारौँ श्रद्धालु दर्शनार्थी पुग्ने गर्छन्। मन्दिरमा हुने पूजाआजामा सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लाका साथै छिमेकी भारतबाट समेत भक्तजनको उल्लेख्य सहभागिता रहने गरेको समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिनुभयो।
स्थानीयहरूको भनाइअनुसार, मेलाको दिन बिहानै चार बजेदेखि दाइन दमाह, रुइसिङ्ग, विकुल, भोकर, शङ्ख र घण्टाजस्ता परम्परागत बाजागाजासहित चारवटै गाउँका मानिसहरू डोलीमा भगवती माताको देउरो बोकी मन्दिर पुग्छन्। त्यसपछि पूजा–आराधनाको मुख्य कार्यक्रम सुरु हुन्छ।
स्थानीय किम्वदन्तीअनुसार, करिब दुई हजार पाँच सय वर्षअघि अमरगढीको लटाउली क्षेत्रका साँकी समुदायका किसानले हलो जोत्ने क्रममा जमिनमा रगत निस्किएपछि देवीको दर्शन भएको मानिन्छ। त्यहीँबाट महागौरी र कालिका स्वरूपकी देवी उग्रतारा भगवतीको पूजा–आराधना सुरु भएको विश्वास रहँदै आएको छ।
हजारौँ भक्तजनले वर्षमा एकपटक भव्य रूपमा आयोजना हुने यस मेलामा सहभागी भई भगवती माताको दर्शन गरेमा दैवी प्रकोप टर्ने, सुख–समृद्धि प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ।


















Discussion about this post