सुदूरपश्चिमका शक्तिपीठहरूमा मेला–जात्राको उल्लास

सार्थक ब्यूरो ।दसैँ–तिहार सम्पन्न भएसँगै सुदूरपश्चिमका बैतडी, डडेल्धुरा, डोटी र दार्चुलालगायतका जिल्लामा रहेका शक्तिपीठ र मन्दिरहरूमा जात्रा तथा मेलाको रौनक छाएको छ । कात्तिक शुक्लपक्ष सुरु भएपछि ती क्षेत्रका गाउँ–शहरहरू भक्तजनको भीडले गुञ्जिन थालेका छन् । बाहिरबाट आएका श्रद्धालुका कारण स्थानीय बजारहरूमा समेत चहलपहल बढेको छ ।
बैतडी सदरमुकाम नजिकैको त्रिपुरासुन्दरी (रणशैनी भगवती) मन्दिरमा कात्तिक शुक्ल अष्टमी र नवमीका दिन विशेष जात्रा लाग्ने परम्परा अनुसार तयारी तिब्र बनाइएको मन्दिर सेवा समितिका अध्यक्ष गणेशसिंह थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यस अवसरमा राँगा र बोकाको बलि दिने चलन वर्षौं देखिको परम्परा हो ।
त्यस्तै, जिल्लाको दक्षिणी भागमा अवस्थित मेलौली भगवती मन्दिरमा लाग्ने ‘देही जात’ यस वर्ष कात्तिक १८ र १९ गते आयोजना गरिँदैछ । मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदीशसिंह नायकका अनुसार जात्राको तयारी अन्तिम चरणमा पुगेको छ । त्यसैगरी, शिवनाथ गाउँपालिका–६ को शिवनाथ धाममा पनि कात्तिक ११ र १२ गते धार्मिक मेला आयोजना हुँदैछ ।
कात्तिक शुक्लपक्षका दिन सुदूरपश्चिमका त्रिपुरासुन्दरी, मेलौली, रौलाकेदार, फाल्ङासैनी, शिवनाथ, महारुद्र, त्रिवेणीधाम (राताशीला), गणमेश्वर, वासुलिङ्ग, कफलाशैनी, जगन्नाथ, सिगास धुरा, सनशेर र अनिरुद्रलगायतका मन्दिरहरूमा भक्तजनको बाक्लो उपस्थितिसँगै पूजा, भाकल पूर्ति, बलि र जाग्रामजस्ता धार्मिक गतिविधिहरू जारी छन् ।
दार्चुलाको मालिकार्जुन धाम र लटिनाथ मन्दिरमा पनि यस्तै धार्मिक उत्सव भइरहेको छ भने डडेल्धुराको उग्रतारा र भागेश्वर मन्दिरमा समेत श्रद्धालुको घुइँचो देखिएको छ । डोटीको बडिकेदार मन्दिरमा जात्राको तयारी भइरहेको र निङ्गाशैनी, उदयदेव (पाटन) तथा डिलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न भइसकेको स्थानीयहरूले बताएका छन् ।
स्थानीय माधव लेखकका अनुसार मेलाका अवसरमा घरायसी उत्पादन, कपडा तथा कृषि सामग्रीको किनबेच हुने भएकाले यसले स्थानीय अर्थतन्त्रमा गतिशीलता ल्याउने गर्छ । त्यस्तै, यी जात्राहरूले टाढा रहेका आफन्तहरूबीच भेटघाट र सामुदायिक एकता सुदृढ गर्न सहयोग पुर्‍याउँछ ।
भारतसँग सीमावर्ती यी शक्तिपीठहरूमा भारतीय भक्तजनको उपस्थितिसमेत उल्लेख्य हुने गर्छ । यस वर्ष मात्रै त्रिपुरासुन्दरी मन्दिरमा करिब दुई हजारभन्दा बढी भारतीय श्रद्धालु पुगेको जुलाघाटका व्यापारीहरूले बताएका छन् । मेलौलीका स्थानीय सुरतसिंह पार्कीका अनुसार जात्राका बेला पाहुनाको संख्यामा वृद्धि हुने भएकाले गाउँका होटल र घरहरू भरिने गर्छन् ।
मेला सहज र व्यवस्थित बनाउन स्थानीय तहहरूले सडक सरसफाइ, मन्दिर क्षेत्रको व्यवस्थापन र सुरक्षाको तयारी गरेको जनाइएको छ । साथै, मन्दिर परिसरमा मदिराजन्य पदार्थको प्रयोगमा कडाइ गरिएको छ ।
यसरी, दसैँ–तिहारपछि सुरु हुने यी मेला–जात्राहरूले सुदूरपश्चिमको सांस्कृतिक जीवनलाई अझै जीवन्त बनाउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा समेत योगदान पु¥याइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित