प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औं जन्मजयन्ती मनाइँदै

सार्थक ब्यूरो ।नेपालको प्रजातान्त्रिक आन्दोलनका प्रमुख नायक तथा विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १११औं जन्मजयन्ती आज देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ।
नेपाली राजनीतिमा असाधारण त्याग, साहस र इमानदारीका प्रतीक मानिने सिंहले राष्ट्रिय जीवनमा सत्य र सिद्धान्तप्रतिको अडानका उदाहरण पेश गरेका थिए। २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले उनलाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा उनले आफ्ना सहकर्मी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेतृत्व त्याग गरेर राजनीतिमा नैतिकताको सर्वोच्च मूल्य प्रस्तुत गरेका थिए।
वि.सं. १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीमा जन्मेका सिंहले किशोर अवस्थामै राणा शासनविरुद्धको विद्रोहमा आफूलाई समर्पित गरेका थिए। १९९७ सालमा नेपालकै पहिलो राजनीतिक दल प्रजा परिषद् का सदस्य बनेपछि उनले राणा शासन अन्त्य गर्ने अभियानमा सक्रिय भूमिका खेलेका थिए। त्यस क्रममा उनलाई पक्राउ गरी जेलमा राखिएको थियो।
वि.सं. २००७ अघि उनले भद्रगोल जेल फोरेर भारत पुगेर बीपी कोइरालासँग सहकार्य सुरु गरे र २००३ मा नेपाली राष्ट्रिय कांग्रेस (हालको नेपाली कांग्रेस) को स्थापना र विस्तारमा निर्णायक भूमिका खेले। वीरगञ्ज मोर्चामा सशस्त्र संघर्षमार्फत २००७ सालको क्रान्तिमा सहभागिता जनाउँदै उनले देशमा प्रजातन्त्र स्थापनाका लागि अग्रणी भूमिका निर्वाह गरे।
वि.सं. २०१५ को पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा उनी वरिष्ठ मन्त्री बने। तर २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि उनले करिब आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कैद जीवन बिताए। २०२५ सालमा बीपी कोइरालासँगै रिहा भएपछि प्रवासमा रहँदै राजनीतिक संगठन विस्तारमा जुटे।
२०३३ सालमा बीपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका सिंह पुनः गिरफ्तार भएर सुन्दरीजल बन्दीगृहमा थुनिए। २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा समेत उनले निर्णायक भूमिका खेले। बीपीको निधनपछि २०४२ सालको सत्याग्रह आन्दोलनमा नेतृत्व सम्हाल्दै उनले पुनः जनआन्दोलनको आधार तयार गरे।
२०४६ सालको ऐतिहासिक आन्दोलनमा उनले कम्युनिष्ट दलहरूसँग सहकार्य गर्दै पञ्चायती शासन अन्त्य गर्ने अभियान को सर्वोच्च कमाण्डरका रूपमा नेतृत्व गरे। यही भूमिकाले उनलाई नेपाली जनताका आँखामा “लोकतन्त्रका प्रतीक”का रूपमा स्थापित गर्‍यो।
वि.सं. २०५४ असोज २ गते उनको निधन भए पनि उनको योगदान नेपाली प्रजातन्त्रको इतिहासमा अमिट रह्यो। हाल सुन्दरीजलस्थित बन्दीगृह, जहाँ उनले लामो समय कैद जीवन बिताए, २०६१ सालमा बीपी सङ्ग्रहालयका रूपमा रूपान्तरण गरिएको छ।
उनको १११औं जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेससहित भ्रातृ तथा शुभेच्छुक संगठनहरूले देशभर विभिन्न श्रद्धाञ्जली सभा, विचार गोष्ठी र र्‍याली आयोजना गरी उनको योगदान स्मरण गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित