सार्थक ब्यूरो ।नेपाल प्रहरीको सर्वोच्च जिम्मेवारी नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले औपचारिक रूपमा सम्हाल्नुभएको छ। गृह मन्त्रालयमा आयोजित समारोहमा मन्त्रालयका सचिव रामेश्वर दंगालले कार्कीलाई दर्ज्यानी चिह्न लगाउँदै औपचारिक रूपमा पदभार ग्रहण गराइदिनुभयो।
अघिल्ला आईजीपी चन्द्रकुवेर खापुङ ३० वर्षे सेवा अवधिका कारण २६ कात्तिक राति १२ बजेदेखि अनिवार्य अवकाशमा गएपछि प्रहरीको कमाण्ड कार्कीको हातमा पुगेको हो। मन्त्रिपरिषद्को २५ कात्तिकको बैठकले कार्कीलाई नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गर्ने निर्णय गरेको थियो।
कार्कीले हालैका चुनौतीपूर्ण घटनाक्रममा नेतृत्व क्षमता प्रदर्शन गर्दै आएका छन्। २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा उनले काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए, जब उपत्यकामा एआईजी पद खाली थियो। त्यसअघि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत साधन विभागका प्रमुखका रूपमा कार्यरत थिए।
सेवाकालमा कार्कीले देशका विभिन्न क्षेत्रमा जिम्मेवारी सम्हालेका छन्। डीआईजी रहँदा उनले लुम्बिनी प्रदेशको कमाण्ड सम्हालेका थिए भने एसएसपीको जिम्मेवारीमा काठमाडौं जिल्ला प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा चर्चित भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अगाडि बढाउने टोलीको नेतृत्वमा थिए।
ईमानदार, अनुशासित र नीतिनिष्ठ प्रहरी अधिकृतका रूपमा परिचित कार्कीलाई संगठनभित्र फील्ड अनुभवदेखि प्रशासनिक दक्षता दुवैका लागि प्रशंसा गरिन्छ। आर्थिक विवाद वा गम्भीर आरोपमा नपरेका कार्कीले विदेशमा विभिन्न तालिमहरू पनि लिएका छन्।
नेपाल प्रहरीका प्रवक्ताका रूपमा पनि काम गरिसकेका कार्की अब देशभरको प्रहरी संगठनको नीति, नेतृत्व र अनुशासनका जिम्मेवारीसहित नयाँ भूमिकामा छन्। प्रहरी संगठनमा सुधार र विश्वसनीयता पुनर्स्थापनाको अपेक्षासहित उनले नेतृत्व सम्हालेका छन्।


















Discussion about this post