सार्थक ब्यूरो ।ब्यास गाउँपालिका–१ तिकंरका स्थानीयवासीहरूले चीन–भारतसँग जोडिने तिकंर–भन्ज्याङ–ताक्लाकोट सीमा नाका नियमित खुला राख्न माग गरेका छन्। सशस्त्र प्रहरीले स्थानीय सहभागितामा आयोजना गरेको सीमा सहजीकरण समितिको बैठकमा नाका सञ्चालनको विषय प्रमुख रूपमा उठाइएको हो।
कात्तिक २१ गते वडा सदस्य हितेश तिकंरीको अध्यक्षतामा सम्पन्न बैठकमा गाउँको सुरक्षा अवस्था, भौगोलिक कठिनाइ, यातायातको अभाव तथा दैनिक जीवनमा देखिएका चुनौतीबारे व्यापक छलफल भयो। संयोजक वडा अध्यक्ष अशोक बोहरा बाहिर रहेकाले बैठकमा उपस्थित हुन सकेनन्।
बैठकमा नागरिक समाजका प्रतिनिधि तथा पूर्वजिल्ला समिति सदस्य दानसिंह तिकंरीले कोरोना महामारी अघि स्थायी रूपमा खुल्दै आएको नाका अहिले चिनियाँ पक्षले महिनामा एक–दुई दिन मात्रै खोल्ने गरेको उल्लेख गर्दै यसले व्यापार–व्यवसाय र आवागमनमा ठूलो असर परेको बताए। उनले नेपाल सरकारले कुटनीतिक पहलमार्फत नाकालाई सहज र व्यवस्थित रूपमा सञ्चालनमा ल्याउन आग्रह गरे।
सशस्त्र प्रहरी निरीक्षक तथा विओपी तिकंर प्रमुख अनिलबहादुर शाहीले स्थानीय समुदायले सीमा सुरक्षामा दिएको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैठकमा उठाइएका माग तथा सुझावहरू माथिल्लो तहमा पठाउने प्रतिबद्धता जनाए।
छलफलमा तिकंरबासीको मुख्य आम्दानी क्षेत्र तिब्बतको ताक्लाकोटसँग हुने व्यापार भएकाले नाका अनियमित हुँदा दैनिक जीवनमै असर परेको निष्कर्ष निकालिएको थियो। सशस्त्र प्रहरीले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, स्थानीय धार्मिक तथा सांस्कृतिक गतिविधिमा सहभागिता तथा विपद् व्यवस्थापनमा सहयोग पु¥याउँदै आएको जानकारी गराइयो, जसप्रति स्थानीयहरूले प्रशंसा व्यक्त गरे।
बैठकले आगामी दिनमा सीमा सुरक्षा बलसँग सहकार्य गर्दै सम्भावित अवाञ्छित गतिविधि रोकथाम, शान्ति–सुरक्षा सुदृढीकरण तथा व्यवस्थित सीमा व्यवस्थापनमा सहयोग गर्ने स्थानीयको मनसाय सार्वजनिक गरेको छ।


















Discussion about this post