पार्टीभित्रको अनुशासनहीनता सह्य नहुने : मुख्यमन्त्री शाह

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसभित्र पछिल्लो समय बढ्दै गएको अमर्यादित भाषाशैली र अनुशासनहीन गतिविधिप्रति कडा असन्तुष्टि जनाएका छन्।
बाजुराको त्रिवेणी नगर कार्य समितिद्वारा शनिबार गरिएको कार्यकर्ता भेला कार्यक्रममा बोल्दै उनले विशेष महाधिवेशनको प्रसंग उठाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई लक्षित गरी केही नेताले सार्वजनिक रूपमा प्रयोग गरेका अपमानजनक शब्द अस्वीकार्य रहेको टिप्पणी गरे।
शाहका अनुसार कांग्रेस विधि–प्रक्रियामा चल्ने संगठन भएकाले कसैले पनि व्यक्तिगत आक्षेप वा अशिष्ट भाषाको प्रयोग गर्न नपाइने स्पष्ट सन्देश पार्टीभित्रै स्थापित गर्न आवश्यक छ। उनले केन्द्रमा तुरुन्त बैठक बोलाएर यस्ता प्रवृत्तिमा संलग्न व्यक्तिमाथि कारबाहीको प्रक्रियामा लाग्न नेतृत्वलाई आग्रह गरे।
हालै प्राइम टेलिभिजनमा कांग्रेस नेता शंकर तिवारीले दिएको अभिव्यक्तिप्रति प्रत्यक्ष रूपमा प्रतिक्रिया जनाउँदै मुख्यमन्त्री शाहले पार्टीमा अनुशासन र मर्यादा बलियो बनाउनै पर्ने उल्लेख गरे। देउवाको लामो राजनीतिक योगदान स्मरण गर्दै उनले गैरजिम्मेवार टिप्पणीले पार्टी छविमा नकारात्मक असर पार्ने भन्दै आह्वान गरे कि, कांग्रेसले आन्तरिक शुद्धीकरणमार्फत सुदृढ दिशातर्फ अघि बढ्नुपर्छ।
कार्यक्रममा उनले वर्तमान राजनीतिक जटिलताबीच संयम, एकता र वैचारिक स्पष्टता पार्टीका लागि अत्यावश्यक भएको पनि बताए। देउवाको नेतृत्वमा कांग्रेसले देशलाई स्थिरतामार्गमा लैजान सक्ने विश्वास व्यक्त गर्दै उनले कार्यकर्तालाई विचलित नहुन तथा साझा दिशामा उभिन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित