सार्थक ब्यूरो ।कैलालीको चिसापानीस्थित कर्णाली पुल पछिल्ला महिनादेखि तीव्र रूपमा पर्यटक तान्न सफल बनेको छ। पुलमा फोटो खिच्ने र भिडियो बनाउनेको भीड दिनदिनै बाक्लिँदै जाँदा यहाँको चहलपहल झनै बढेको छ।
एक खम्बामा अडिएको आधुनिक संरचनाका कारण पहिलेदेखि नै चर्चित यो पुल अहिले शैक्षिक भ्रमण, घर–बाहिरको अवलोकन यात्रा र आन्तरिक पर्यटनका लागि मुख्य गन्तव्यको रूपमा स्थापित हुँदै गएको स्थानीय तहले बताएको छ। स्थानीय व्यवसायीका अनुसार दैनिक हजारौं पर्यटक पुल र आसपासको प्राकृतिक दृश्यावलोकनका लागि आउने गरेका छन्।
कर्णाली नदीको व्यापक बहाव, वरपरका वन–पहाड र एक खम्बे झोलुंगे संरचनाले दिएको अनौठो दृश्यले पर्यटकलाई आकर्षित गर्छ। पर्यटक वृद्धि संगै चिसापानी बजारमा पनि ठूलो परिवर्तन आएको छ। पहिले केही साना पसलले मात्र भरिएको बजार अब होटल, लज र रेष्टुरेन्टहरूको श्रृंखलामा रूपान्तरित भएको छ। स्थानीय युवालाई घरमै रोजगारी दिने वातावरण बनेको छ। माछाका परिकार, सुकुटी र स्थानीय खान्की बिक्री गर्ने अवसर बढेपछि घरेलु आम्दानीसमेत बढेको स्थानीयले बताउँछन्।
सन् १९९३ मा निर्माण सम्पन्न भएको कर्णाली पुल सुदूरपश्चिमलाई देशका अन्य भूभागसँग जोड्ने महत्वपूर्ण यातायात संरचना पनि हो। करिब ५०० मिटर लम्बाइ र १० मिटर चौडाइ भएको पुलमा बीचको एक ठूलो खम्बाबाट स्टीलका केबलमार्फत पुल अड्याइएको छ। ३,८७० टन स्टील प्रयोग गरी जापानको कावासाकी हेवी इन्डस्ट्रीजले निर्माण गरेको यो पुलमा एकपट्टि ३२५ मिटर र अर्कोपट्टि १७५ मिटरको स्पान छ।
पर्यटन र आवत–जावत दुबै बढेसँगै चिसापानी पछिल्ला वर्षमा सुदूरपश्चिमको उदीयमान आर्थिक केन्द्रका रूपमा अघि बढिरहेको देखिन्छ।


















Discussion about this post