सार्थक डेस्क।भीमदत्तको जन्मदिन-स्मरण मात्र होइन, वर्तमान शासनलाई प्रश्न गर्ने दिनका रूपमा लिइनु आवश्यक छ। शहीद भीमदत्त पन्तको नाम उच्चारण गर्दा आज पनि सुदूरपश्चिमको माटो रोमान्छित हुन्छ। दमन, अन्याय र शोषणविरुद्ध उठेको त्यो विद्रोही स्वर केवल इतिहासको एउटा अध्याय होइन , यो वर्तमान राजनीतिक व्यवस्थालाई दह्रो प्रश्न गर्ने जिवन्त प्रमाण हो। भीमदत्तले उठाएका मुद्दाहरू,भूमिहीनता, सामाजिक असमानता, न्यायको पहुँच, स्थानीय गरिब–किसानको अधिकार,आज पनि ज्यूँदैछन्। यही कारण उनको जन्मदिन केवल स्मरण दिवस होइन, समसामयिक चुनौतीहरूलाई नागरिकको नजरबाट पुनः परिभाषित गर्ने अवसर बनेको छ। भीमदत्तको मुख्य लडाइँ भूमि वितरण र किसानको हकका लागि थियो। तर आज,सात दशकपछि,सुदूरपश्चिमकै जिल्लाहरूमा भूमिहीनको संख्या झनै बढेको तथ्य सरकारका वार्षिक विवरणले भन्छन्। गैरी–खेतमा पसिना बेच्ने किसान अझै कागजको धनी बन्न सकेका छैनन्। भूमिसम्बन्धी नीति सुधारका हरेक राजनीतिक घोषणा भनाइमै सीमित छन्।भीमदत्तको जन्मदिनमा गरिएको ‘श्रद्धाञ्जली’ त्यो बेला मात्र अर्थपूर्ण हुन्छ, जब राज्यले भूमिहीनलाई खेतसँगै सम्मान जोडिदिने नीतिगत साहस देखाउँछ।रोड, पुल, बजार, अस्पताल,जति सडकमा नारा लागे पनि सुदूरपश्चिम अझै ‘पछाडि पारेको प्रदेश’ को पहिचानबाट मुक्त भएको छैन। कर्णाली करिडोर, नमस्ते राजमार्ग, खाद्य सुरक्षा, सीमावर्ती व्यापार जस्ता परियोजनाहरू वर्षौंदेखि कागजमै अल्झिएका छन्।कागजमा प्रगति,माटोमा सुस्तता।यही हो भीमदत्तको संघर्षसँग जोडिएको आजको दुःखान्त व्यंग्य।राजनीतिक नेतृत्वमा सुदूरपश्चिमको आवाज अझै कमजोर छ।
दलहरूको निर्णय तहमा जबसम्म यो क्षेत्रको मुद्दा प्रतिनिधित्व हुँदैन, तबसम्म विकास र न्यायको प्राथमिकता स्वाभाविक रूपमा हराइरहन्छ।भीमदत्तले उठाएको ‘किसानको शक्ति राजनीतिक निर्णयमा पर्नुपर्छ’ भन्ने मूल विचार आज पनि समान रूपले सान्दर्भिक छ।भीमदत्त पन्तले हिंसा होइन, परिवर्तनकारी चेतना को बाटो देखाएका थिए।आजका आन्दोलनहरूको भाषामा जब ध्वंसवाद मिसिन्छ, प्रजातान्त्रिक मूल्य कमजोर बन्छ।भीमदत्तको बाटो न्याय, समानता र संगठनमा आधारित थियो,आक्रोशमा होइन।त्यसैले उनको स्मरण आजको राजनीतिक संस्कृति,गाली, ध्वंस, असहिष्णुता विरुद्ध एउटा सुसंस्कृत सन्देश हो । प्रत्येक वर्ष औपचारिक समारोह, भाषण, फूलमाला हुन्छन्।तर भीमदत्तको वास्तविक योगदान गाउँका विद्यालयमा अध्यापन हुन सकेको छैन, कृषि सुधारका नीतिमा प्रेरणा बन्न सकेको छैन, युवाका रोजगारी योजनामा समाहित हुन सकेको छैन।शहीदलाई सम्मान राज्यको ‘अडियो–भिडियो’ कार्यक्रमले होइन,नीति, शिक्षा र व्यवहारले दिनुपर्छ। भीमदत्त पन्तलाई सम्झनुको उद्देश्य ‘इतिहासको पुनरावृत्ति’ होइन‘न्यायको पुनःस्थापना’ हो।आज देशभर चलिरहेका राजनीतिक अव्यवस्था, असमानता, बेरोजगारी र आर्थिक अनिश्चयका बीच उनको जन्मदिनले हामीलाई एउटा कठोर प्रश्न सोध्छ,भीमदत्तको विचार,समानता, सामाजिक न्याय, किसान–किसान्नीको सम्मान, सुदूरपश्चिमको प्राथमिकता,यिनै प्रश्नहरूको उत्तरमा जीवित हुन्छ। तसर्थ, उनको जन्मदिनमा गरिएको स्मरण तबमात्र सार्थक हुन्छ, जब राजनीतिक नेतृत्व र नीति संयन्त्रले शहीदको सपना व्यवहारमै रूपान्तरण गर्ने प्रतिज्ञा गर्छ।भीमदत्त पन्तको सम्मान गर्दै सरकारले २०७२ फागुन १९ गते सहिद घोषणा गरेको भएपनि उनका बिचार काे कदर हुन सकेको छैन। भिमदत्त स्मृति प्रतिष्ठान ले जन्माेत्सव र स्मृति दिवस विविध कार्यक्रम गरी मनाउदै आएको छ।तर तीन तहकाे सरकार काे उपेछ्या किन ? भन्नैपर्छ।


















Discussion about this post