जुम्ली घोडा जोलजीवी मेलामा पुर्‍याउन २२ दिनको पैदल यात्रा

सार्थक ब्यूरो ।सुदूरपश्चिमको दार्चुलामा आयोजना हुने प्रसिद्ध जोलजीवी मेलामा यस वर्ष पनि जुम्लाबाट घोडा व्यापारीहरूको आगमन सुरु भएको छ। चन्दननाथ नगरपालिका–८, धरलबाडाका जयकृष्ण धरालाले २२ दिनको कठोर पैदल यात्रापछि आफ्ना ‘जुम्ली घोडा’ मेलामा पुर्‍याएका हुन्।
उनी गत कात्तिक ९ गते १४ वटा घोडासहित यात्रा सुरु गरेका थिए। बाटोमै माग भएअनुसार आठ वटा घोडा बेचिसकेका उनले बाँकी छ वटा घोडा मेलामा व्यापारका लागि ल्याएका छन्। लामो समयदेखि मेलामै घोडा बिक्री गर्दै आएका जयकृष्ण भन्छन्—“अघिल्ला वर्षजस्तो कारोबार अब रहन छोड्यो, माग निकै घटेको छ।”
भारतको पिथौरागढ, अल्मोडा, बागेश्वर र दारमा क्षेत्रका बासिन्दा जुम्ली घोडाका मुख्य ग्राहक मानिन्छन्। तर ग्रामीण क्षेत्र रोड सञ्जालसँग जोडिन थालेपछि घोडाको उपयोगिता घट्दै गएको व्यापारीहरूको अनुभव छ।
दार्चुलाको उत्तरी भेगमा बसोबास गर्ने सौका समुदायका लागि भने घोडा अहिले पनि यातायातको महत्त्वपूर्ण साधन नै हो। व्यास गाउँपालिकाको छाङरु–तिङ्कर क्षेत्र सडकविहीन भएकाले यहाँका बासिन्दाले घोडा किन्नैपर्ने आवश्यकता रहने व्यापारीहरूको भनाइ छ।
एक समय जोलजीवी मेलामा सयौँ संख्यामा घोडा बिक्ने गरेको स्मरण गर्दै जयकृष्ण भन्छन्—“अहिले १५–१६ वटा घोडा मात्र बिक्री हुने अवस्था छ।” करिब ४० वर्षदेखि निरन्तर मेलामा सहभागी हुँदै आएका उनले आफ्नो परिवार पुस्तौँदेखि नै घोडा व्यापारमा रहेको बताए।
जुम्लाका अर्को व्यापारी आनन्द धरालाले यात्राको कठिनाइ, घोडा चराउने ठाउँको अभाव र बसाइ–भोजका चुनौतीले व्यापार थप कठिन बन्ने बताएका छन्। जुम्ली व्यापारीहरू दार्चुलाको जोलजीवीसँगै बर्दियाको राजापुर र दाङको पर्सेनीमा पनि घोडा बेचबिखन गर्दै आएका छन्।
उत्तम घोडाको मूल्य हाल करिब १ लाख २० हजार रुपैयाँसम्म पुग्छ भने साधारण घोडा ५०–६० हजार रुपियाँमा बिक्री हुने व्यापारिहरू बताउँछन्।
नेपाल–भारत सीमाक्षेत्रमा लाग्ने जोलजीवी मेला यस वर्ष मङ्सिर १० गते समापन हुँदैछ। जलेश्वर महादेव मन्दिर परिसरमा दशकौँदेखि लाग्दै आएको यो मेला नेपाल–भारतबीचको स्थानीय व्यापारको प्रमुख केन्द्र मानिन्छ। नेपाली घोडासँगै तिब्बती घरेलु सामान मेलाको मुख्य आकर्षण बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित