हरि प्रसाद जोशी
९९ वर्षअघि जन्मिएका सहिद भीमदत्त पन्त आज इतिहासका पानामा मात्र होइन, राज्यको उदासीनता र राजनीतिक पाखण्डको कठोर प्रमाण बनेर उभिएका छन्। कञ्चनपुरमा उनीप्रति श्रद्धाञ्जली दिने कार्यक्रम सकियो, तर प्रत्येक वर्षझैँ प्रश्न भने यथावत छ,सहिदको नाम बेचेर राजनीति गर्नेहरू कहाँ हराउँछन् जब जिम्मेवारी पूरा गर्ने बेला आउँछ?सालिक तोड्ने हातहरू पहिचान हुन्छन्, तर राज्यका हात किन काँप्छन्?भीम बाटिकामा तोडफोड भएको पन्तको सालिक वर्षौंदेखि पुनर्निर्माणका लागि प्रतीक्षामा छ।
प्रतिष्ठानले नगरपालिकालाई जिम्मा दिएर हस्तान्तरण गरेको सालिक आज निर्जीव रूपमा ध्वस्त छ, तर जिम्मेवार निकायहरू,संघ, प्रदेश, स्थानीय—तीनै तहका सरकार घुंगुटी धराप परेर बसेझैँ मौन छन्।
सहिदको सालिक तोडियो, इतिहासमाथि प्रहार गरियो, अपमान गरियो। तर राज्य? सुनसान र गुम्सिएको मौनता।के राज्य सहिदलाई सम्मान गर्न डराउँछ, कि अपराधीलाई जोगाउन चाहन्छ ?
२०७२ सालमा सरकारले पन्तलाई सहिद घोषणा गर्यो।तर घोषणा कागजमै टाँसियो, व्यवहारमा शून्य।बजेट छैन, मर्मत छैन, संरचना छैन, योजनाचाहिँ कहिल्यै नआउने।सहिद घोषणालाई देखाउने दाँत र व्यहारीक अपमानलाई खाने दाँत बनाइदिएको छ राज्यले।पूर्वी नेपालमा जन्मिए मात्र सम्मान पाउने संस्कृति विकास हुन थालेको जस्तो व्यवहार सत्ता चलाउनेहरूबाट झन् स्पष्ट हुँदै गएको छ।
भीमदत्त नगरपालिका नामाकरणदेखि स्मारक संरक्षणसम्म,राजनीतिक दलका नेताहरू आन्दोलनमा उफ्रिन्थे, घोषणापत्रमा पन्तको नाम लेख्थे।तर पद र शक्ति हातमा आउनेबित्तिकै,उनीहरूलाई पन्तको नाम ‘भाषणको ग्यान’ बाहेक केही लाग्दैन।कार्य व्यवहारमा भने पन्त निरन्तर अपमानित छन्।
भीमदत्त पन्तले उठाएका नारा “कित जोत हलो, कित छोड थलो”आजका सामन्तवादी सोचलाई अझै चस्स घोचिरहेकै छन्।यही कारणले हुनसक्छ,सहिदको विचारलाई शक्तिशाली बनाउने संरचना राज्यले निर्माण गर्न चाहँदैन।वर्गीय न्यायका सवाल शक्तिसम्पन्नहरूको ढोंग चिर्ने शक्ति राख्छ,र यही शक्ति राज्य र दललाई असह्य लागिरहेको छ।
अमर सहिद भीमदत्त पन्त स्मृति प्रतिष्ठानलाई आफ्नै भवनभित्र कार्यक्रम गर्न बाध्य पार्ने कुन राज्य व्यवस्था हो ? सालिक तोडिन्छ, मर्मत हुँदैन।सहिद दिवस आउँछ, भाषण गरिन्छ।अर्को दिनै सबै बिर्सिन्छ।यो सामान्य उपेक्षा होइन,यो सहिदप्रतिको व्यवस्थित, योजनाबद्ध, र निर्लज्ज बेवास्ता हो।
भीमदत्त पन्त कुनै क्षेत्रीय नाम होइनन्,उनी किसान मुक्ति आन्दोलनका मेरुदण्ड हुन्।उनको स्मारक तोडेर इतिहास मेटाउने प्रयास गर्नु देशको आत्मामा आक्रमण गर्नु जत्तिकै घातक हो।र राजनीतिक दलहरू,तपाईंहरूको मौनता इतिहासले क्षमा गर्ने छैन।
पन्तको ९९औँ जन्मजयन्तीले हामीलाई फेरि सम्झाइदियो,राज्य सहिदप्रति कति खोक्रो, कति कमजोर, कति निर्लज्ज छ।अब सहिदको नाम झुण्ड्याएर भाषण गर्नेहरूलाई प्रश्न गर्नुपर्ने समय आएको छ “सहिदलाई सम्मान गर्ने कि गर्दै गरेको नाटक अन्त्य गर्ने ?”पन्तले जस्तो वर्गीय अन्यायविरुद्ध लड्न नसके पनि कम्तीमा उनको सम्मान जोगाउने नैतिक क्षमता आफूभित्र विकास गर्ने कि नगर्ने,नेतृत्वले अब निर्णय लिनुपर्छ।


















Discussion about this post