सार्थक ब्यूरो । नेकपा (एमाले)को ११औँ महाधिवेशनको पूर्वसन्ध्यामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै पार्टीलाई चुनौतीपूर्ण राजनीतिक परिस्थितिबाट अघि बढाउन सक्षम प्रतिनिधि चयन गर्नुपर्नेमा जोड दिएकी छन्।
फेसबुकमा सार्वजनिक गरिएको सन्देशमा उनले आफ्नो सदस्यता दुई वर्षअघि विधानअनुसार नवीकरण भए पनि नेतृत्व तहले रोकिदिएको कारण महाधिवेशनमा उपस्थित हुन नसक्ने उल्लेख गरेकी छन्। तरपनि पार्टीप्रति आफ्नो प्रतिबद्धता अविचलित रहेको उनको भनाइ छ।
भण्डारीले आगामी महाधिवेशनले संगठनका लागि नीतिगत दिशानिर्देश तय गर्ने र सामाजिक–आर्थिक रूपान्तरणतर्फ मार्गनिर्देशन गर्ने महत्वपूर्ण अवसर भएको बताएकी छन्। उनले वैचारिक परिपक्वता, अनुशासन र विभिन्न क्षेत्रको सन्तुलित उपस्थिति हेरेर प्रतिनिधि छनोट गर्न पार्टी पङ्क्तिलाई आग्रह गर्दै यसप्रति पार्टी कार्यकर्ताले जिम्मेवारीपूर्वक ध्यान दिने विश्वास व्यक्त गरिन्।
विशेष परिस्थितिले गर्दा निर्धारित समयभन्दा एक वर्षअघि नै महाधिवेशन हुन लागेको उल्लेख गर्दै उनले यस प्रक्रियाले पार्टीभित्र युवा नेतृत्वसहित सबै तहबाट प्रभावकारी सहभागिता सुनिश्चित गर्ने अपेक्षा व्यक्त गरिन्।
एमालेलाई देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिको केन्द्रको रूपमा वर्णन गर्दै पूर्वराष्ट्रपति भण्डारीले महाधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गरेकी छन्।
















Discussion about this post